सिटीजन्स बैंक र कर्मभूमि समाजबिच कर्जा लगानी गर्न सम्झौता



काठमाडौँः कर्मभूमि समाज र सिटीजन्स बैंक इन्टरनेशनलबीच कर्मभूमि समाजले सिफारिश गरेका व्यवसायहरूमा कर्जा लगानी गर्ने सम्झौता भएको छ। हात्तीवन-१५ ललितपुरमा अवस्थित कर्मभूमि समाजले हातमा सीप भएकाहरूलाई उद्यमशील बनाउन बैंक तथा वित्तीय संस्थामार्फत् वित्तीयकरण सुविधा उपलब्ध गराउन मध्यस्थकर्ताको काम गर्दै आएको छ।

देशमा उद्यमशीलता प्रवर्धन गरी गरिबी निवारण तथा विपन्न क्षेत्रलाई माथि उकास्ने काममा क्रियाशील कर्मभूमि समाज र सिटीजन्स बैंकबीच साना, मझौला उद्यम (एसएमईज्), व्यावसायिक कृषि र पशुपालन कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारबाट फर्केकालाई परियोजना कर्जा, सहुलियतपूर्ण महिला उद्यमशीलता कर्जा र दलित समुदाय उद्यमशीलता कर्जा प्रदान गर्ने सहमति भएको हो।

कर्मभूमि समाजले कर्जाको आवश्यकता रहेका उद्यमी, व्यवसायी पहिचान गरी ऋण लिनेका तर्फबाट बैंकको आवश्यकता अनुसारका कागजात, प्रस्ताव बैंक समक्ष पेश गर्नेछ । कागजातहरूको पहिलो चरणको जाँचबुझ समाजले गर्नेछ। समाजले नेपाल राष्ट्र बैंकको निर्देशिकाले तोकेबमोजिम शर्तहरू पालना गरी कर्जाका लागि ऋणग्राहीका तर्फबाट उक्त कागजातहरू पेश गर्नेछ।

ऋण लिने पक्ष र बैंकबीचको पुलको रूपमा समाजले ऋण लिने पक्षका क्रियाकलापहरू नजिकबाट अनुगमन गरी सहजकर्ताको भूमिका निर्वाह गर्नेछ । ऋण लिने पक्षका नाममा कर्जा बुकिङ गर्दा समाजको सिफारिशमा भएको हुनेछ। तर कर्जा प्रवाह गर्दा बैंकले आफ्नो आन्तरिक कार्यविधि, जोखिम मूल्यांकन, नेपाल राष्ट्र बैंकको निर्देशिका तथा आफ्नो विवेक प्रयोग गर्ने सम्पूर्ण अधिकार बैंकमा निहीत रहेको हुन्छ।

कर्जा भुक्तानीको प्राथमिक दायित्व ऋणीको हुनेछ। कर्मभूमि समाजले कर्जाको भूक्तानी सेड्युल अनुसार साँवा, ब्याज तथा शुल्क भुक्तानीमा पूर्ण रूपमा सहयोग गर्नेछ। नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार ब्याजदर र जोखिम बापत्को शुल्क बैंकले निर्धारण गर्नेछ र राष्ट्र बैंकको निर्देशन अनुसार यो परिवर्तन हुन पनि सक्नेछ। उक्त सम्झौतापत्रमा कर्मभूमि समाजका तर्फबाट कार्यकारी सल्लाहकार राजेन्द्र काफ्ले र सिटीजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्