हिमपहिरोका कारण २६ को मृत्यु, १८० बेपत्ता, नेपाली पनि परेको आशंका



गढवाल । भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परी मरेका २६ जनाको शव भेटिएको छ । हिमपहिरोका कारण अरु १८० भन्दा बढी हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । बेपत्ता भएका अधिकांश व्यक्तिहरु विद्युतगृहमा कार्यरत मजदुर रहेका छन् ।

सरकारी अधिकारीहरुले बेपत्ता भएका व्यक्तिहरुको खोजी तथा उद्धारकार्य जारी राखिएको पनि बताएका छन् । मृतक तथा बेपत्ता भएकाहरु भारतको उत्तराखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, बिहार, झारखण्डका रहेको जनाइएको छ । केही व्यक्ति भने नेपाली पनि हुन सक्ने अधिकारीहरुको भनाई छ । दुई ओटा जलविद्युत परियोजना बनाइरहेको ठाउँमा हिमपहिरो गएको हो ।

आइतबार आएको हिमपहिरोका कारण तिब्र बेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ । स्थानीयबासी ओम अग्रवालले तिब्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताए ।

विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाई छ । धेरै जना उद्धारकर्मीहरु सोमबार बिहानैदेखि खटिएका छन् । राष्ट्रिय र राज्य उद्धार टोलीहरु, सेना र प्रहरीका टोलीहरु घटनास्थलमा खटिएका छन् ।

भारतीय अधिकारीहरुले हिउँको ठूलो हिस्सा एकाएक नदीमा खसेपछि ठूलो बाढी आएको बताएका छन् । तर यो हिमताल बिस्फोट भएर हिमपहिरोमा परिणत भएको र त्यो नदीमा खसेको पाइएको छ ।

विश्वव्यापी तापमान वृद्धिको प्रभावका कारण यस क्षेत्रमा हिमनदीका मुहान क्षेत्र विस्तारै सुक्दै गएका छन् भने जलविद्युत् निर्माणले पनि हिमपहिराहरु बढी नै जान थालेको विज्ञहरुले औंल्याएका छन् । सन् २०१३ मा आएको बाढीले ६ हजार व्यक्तिको ज्यान गएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्