आफन्तले भागरथीको शव बुझेनन्, विद्यार्थी पनि आन्दोलित



बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव अझै अस्पतालमै छ । उनलाई बलात्कार गरी हत्या गरिएको घटनाका दोषी पत्ता नलागेसम्म शव नबुझ्ने परिवारजनले अडान छाडेका छैनन् । बुधबार विद्यालय गएकी भागरथीको बिहीबार साँझ बिभत्स अवस्थामा शव फेला परेको थियो ।

शव फेला परेको ६ दिन भइसक्दासम्म पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन । दाहसंस्कार गरिए अपराधी उम्किन्छ कि भन्ने आशंकाले शव उठाउन नसकिएको मृतकका काका शंकर भट्टले बताए । भागरथीको शवलाई अब काठको बाकसभित्र आइसमा राख्ने तयारी जिल्ला अस्पतालले गरेको छ ।

धेरै दिन भएकाले शव बिग्रने हुँदा सुरक्षित राख्न तयारी थालिएको अस्पताल प्रमुख डा. वसन्तराज जोशीले बताए । भागरथी हत्याको पोस्टमार्टम रिपोर्ट भन्छ- ‘बलात्कारपछि घाँटी थिचिएको थियो’ जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले मंगलबारसम्म अनुसन्धानकै क्रममा रहेको र अहिलेसम्म कसैलाई नियन्त्रणमा पनि नलिएको बताए । ‘सोधपुछ चलिरहेको छ ।

अपराधीलाई चाँडै पत्ता लगाउँछौं,’ उनले भने । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमकुमार सुवेदीसहित एसएसपी जनक पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटिएको छ । धनगढीबाट ल्याइएको तालिमप्राप्त कुकुर पनि अनुसन्धानमा प्रयोग भइरहेको छ ।

दोगडाकेदार–३ स्थित सनातन धर्म माविमा १२ कक्षामा पढिरहेकी भागरथीको शव गत बिहीबार खोचलेक-चडेपानी ग्रामीण सडक खण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल वनमाराको झाडीमा फेला परेको थियो । सोमबार आएको पोस्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको उल्लेख छ ।

यसैबीच भागरथी भट्ट हत्या घटनाको विरोधमा विद्यार्थीले दिनहुँ प्रदर्शन गर्न थालेका छन् । मंगलबार पनि सुदूरपश्चिम एकेडेमी कलेजको नेतृत्वमा विद्यार्थीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि धर्ना, नाराबाजी, चक्काजाम गरे । उनीहरूले घटनामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्