हामी एक हुने बेला आएको छ : प्रचण्ड



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा भएको ‘जनयुद्ध’ ऐतिहासिक आवश्यकता रहेको बताएका छन्। उनले कुनै नेता विशेषको रहरले ‘जनयुद्ध’ नभएको बताउँदै उत्पीडित र विभेदमा पारिएका वर्ग, समुदायको चाहना र सहभागितामा भएको दाबी गरे।

कतिपयलाई ‘जनयुद्ध’लाई शान्ति प्रक्रियामा ल्याएर सबै बर्बाद पार्‍यो भन्ने लागेको बताउँदै प्रचण्डले शान्ति प्रक्रिया पनि अर्को ऐतिहासिक कदम भएको बताए। उनले ‘जनयुद्ध’को मुख्य रणनीतिककार र योजनाकार आफू भएकाले त्यसको जिम्मेवारी आफूले बोक्न तयार रहेको बताए। अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै हमला भएकाले एकअर्कामाथि धारे हात लगाउने समय नरहेको पनि प्रचण्डको भनाई छ।

मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का नेता तर्फ लक्षित गर्दै प्रचण्डले अहिले बलिदानीबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा आएकाले सबै एक भएर रक्षामा लाग्नु पर्ने बताए। उनले भने, ‘धर्मग्रन्थ जस्तो माक्सवाद पढेर मात्रै हुँदैन। आवश्यकता र परिवेश अनुसार कार्यमा परिमार्जनको पनि खाँचो पर्छ। हामी एक हुने बेला आएको छ न कि एकअर्कालाई धारे हात लगाउने।’

‘मैले सशस्त्र युद्धलाई शान्तिपूर्ण आन्दोलन, त्यसलाई संविधानसभा र संविधानसभा मार्फत संघीय गणतन्त्रको स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दा आन्दोलनको रक्षा हुन्छ कि यसको हत्या गर्‍यो भन्नु हुन्छ ? मेरो अर्थमा त्यो आन्दोलनको रक्षा र परिवेश अनुसारको उचाईमा पुर्‍याएको हो,’ प्रचण्डले अगाडि भने, ‘युद्धबाट शान्तिपूर्ण आन्दोलनमा म डराएर आएको होइन, परिस्थितिसँगै आफूलाई परिमार्जित गर्दै लगेको मात्रै हो। त्यसैले हामी सबै पनि परिवेश अनुसार चल्नु पर्ने बेला आएको छ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्