नेपाली मजदूर एकता समाजले सरकारलाई बुझायो १३ बुँदे ज्ञापनपत्र



काठमाडौं। नेपाली मजदूर एकता समाजले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीमार्फत् सरकारलाई १३ बुँद्धे ज्ञापन पत्र बुझाएको छ। बुधबार समाजका संस्थापक केन्द्रीय अध्यक्ष तेज बहादुर कार्कीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष देव बहादुर पुन ‘मिलन’, जापान संयोजक तथा केन्द्रीय सदस्य तेज कुमारी तिवारी ‘रिना’, नेपाल समितिको तर्फबाट बिनोद परियार लगायतको टोलीले १३ बुँद्धे ज्ञापनपत्र बुझाएको हो।

ज्ञापन पत्रमा कोभिडको कारण स्वदेशदेखि विदेशमा अलपत्र परेका कामदारहरुकाे निःशुक्ल औषधि उपचार तथा उचित राहत प्याकेज ल्याउन माग गरिएको छ। त्यस्तै नेपाली श्रमिकको २४ घण्टे जीवन बिमा अनिवार्य गरिनु पर्ने, कामदार पठाएर अलपत्र पार्ने म्यानपावर र कामदार लगेर अलपत्र पार्ने कम्पनी दुबैलाई कामदारको उजुरी आउने बित्तिकै रेड जोनमा राखेर कारबाही प्रक्रिया अगाडि बढाउन समेत माग गरेको छ।

यस्तै, खाडी मुलुकमा नेपाल सरकारको तर्फबाट कुनै पनि श्रमिक आवासगृह नभएको भन्दै नेपाल सरकारको तर्फबाट तत्काल आवासगृहको व्यवस्था गर्न, प्रवासी नेपाली श्रमिकले समेत मतदान गर्न पाउने नागरिकको अधिकार ग्यारेन्टी गर्न, अनलाइनबाट नै मतदान गर्ने व्यवस्था मिलाउन माग गरेको छ भने प्रवासमा विभिन्न कारण मृत्यु भएका नेपाली श्रमिकको परिवारलाई अनिवार्य शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी सरकारले गर्नुपर्ने नेपाली श्रमिक कार्यरत कम्पनीमा नेपाल सरकारको तर्फबाट अनुगमन गरिनु पर्ने, श्रमिकको श्रम शोषण हुनबाट जोगाउन श्रम अदालतको स्थापना गरिनु पर्ने, खाडी मुलुकमा कामदारको संख्या अत्यन्तै धेरै भएको तर त्यो मात्रामा दूतावास श्रोत साधन नहुँदा थप समस्या हुने हुँदा श्रमिकको संख्या हेरेर दूतावासमा आवश्यक जनशक्ति थप गर्न तथा हरेक दूतावासमा दुई वटा हटलाइन नम्बर राख्ने व्यवस्था मिलाउन बुझाइएको ज्ञापनपत्रमा भनिएको छ।

यस्तै वैदेशिक रोजगारीमा जाँदा कामदारहरु नेपालबाट नै ठगिन सुरु हुने हुँदा वैदेशिक रोजगारीमा जानको लागि आवश्यक सम्पुर्ण प्रक्रिया अनलाइन प्रणालीमार्फत् बनाइनु पर्ने प्रवासमा विभिन्न कारण बिचल्लीमा परेका जेल जीवन बिताएर स्वदेश फर्कने खर्च नभएर अलपत्र परेका नेपाली श्रमिकलाई सरकारले उद्धार गर्नुपर्ने लगायतका माग राखेको छ।

स्थापनादेखि नै विभिन्न देशका सयौँ श्रमिकको अभिभावक बन्दै आएको मजदूर समाज कोभिड-१९ को चरम सङ्कटमा परेका सयौँ नेपालीहरूलाई पनि आफ्नै पहल कदम र खर्चमा खान बस्नसहित स्वदेश फिर्ता पठाएको थियो। माल्द्भिसमा अलपत्र ७ नेपाली त्यस्तै युएईमा अलपत्र १५ जना नेपाली लगायतलाई खान बस्न लगायत कयौँलाई टिकट खर्च साथै अन्य देशमा अलपत्र श्रमिकलाई पनि आफ्नै श्रोत साधनबाट लकडाउनको अवधिमा मात्रै करिब १० लाख रुपैयाँ खर्च गरी समस्यामा परेका सयौँ नेपालीलाई सहयोग गरेको थियो।

ज्ञापनपत्र:

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्