दाङ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल लमही नगरको प्रथम भेला दाङको देउखुरीमा सम्पन्न भएको छ ।
नेकपा दाङ सेक्रेटरी भगवान दासको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता युवा संगठन नेपाल देउखुरी क्षेत्र इञ्चार्ज संघर्षले गरेका थिए । प्रथम भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका नेकपा दाङ सेक्रेटरी भगवान दासले प्रतिक्रान्तिका विरुद्ध सम्पूर्ण युवा एकजुट भई एकीकृत जनक्रान्तिको दिशामा अघि बढ्न आह्वान गरे ।
भ्रष्टाचार, महंगी, कालोबजारी, बेथिति, विसंगतिले सिमा नाघेको बताउँदै उहाले युवाले नै सुन्दर समाज सिर्जनाको पहलकदमी लिनुपर्ने बताए । उनले नेपालमा दलाल पुँजिवादी संसदीय व्यवस्थाले निम्त्याएको संकट समाधानको विकल्प एकीकृत जनक्रान्तिको कार्यदिशा नै भएको स्पष्ट पारे ।
वैज्ञानिक समाजवाद नै अहिलेको राजनैतिक विकल्प भएको बताउँदै युवाहरुलाई समाजवादी सत्ता स्थापनार्थ अन्तिम र निर्णायक लडाइँमा सामेल हुन आग्रह पनि गरे । राप्ती गाउपालिका इञ्चार्ज प्रबिनको शुभकामना मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण नेकपा लमही सेक्रेटरी उज्ज्वले गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।