वैदेशिक रोजगारीका लागि इजरायलमा कामदारको माग



फागुन ३ , काठमाडौं । वैदेशिक रोजगार विभागले फागुन महिनाको दोश्रो हप्तासम्ममा इजरायलको रोजगारीका लागि आवेदन माग गर्ने तयारी गरेको छ । इजरायलमा केयर गिभर कामका लागि नेपाली कामदार पठाउने सम्बन्धी सम्झौता गत असोजमा भएपनि प्रोटोकलमा गत पुस ९ गते हस्ताक्षर भएको हो ।नेपाल र इजरायलबीच हस्ताक्षर गर्ने समयमा तत्काल कामदार पठाउने प्रक्रिया शुरु हुने भनिए पनि प्रोटोकल हस्ताक्षरको दुई महिना हुन लाग्दासमेत आवेदन माग गर्न सकिरहेको छैन । प्रोटोकलमा हस्ताक्षर हुँदा तत्कालै आवेदन माग गर्ने बताइएको थियो । जसका कारण हाल इजरायल रोगजगारीका आकांक्षीहरु विभाग धाउने गरेका छन् ।

इजरायलको केयर गिभरको रोजगारीमा महिला मात्र नभई पुरुष कामदारहरुमा पनि व्यापक चासो देखिएको छ ।  आवेदन माग गर्ने सफ्टवेयर निर्माणको काम अन्तिम चरणमा पुगेकाले अब धेरै  दिन नलाग्ने भएकाे छ । प्रोटोकलअनुसार इजरायलमा केयर गिभरमा काम गर्ने गरी ५ सय नेपाली कामदार जानेछन् ।

विभागले इजरायलको केयर गिभर रोजगारीमा निजी क्षेत्रको संलग्नता नरहेकोले विचौलियाको सम्पर्कमा नजान रोजगार आकांक्षीहरुलाई आग्रह गरिरहेको छ । सम्झौता अनुसार दुई देशका सरकारी निकायबीचको संलग्नता (जीटुजी) मोडलमा कामदार पठाइने छ ।

सम्झौता कार्यान्वयनका लागि आन्तरिक कार्यविधि बनाई अनलाइनमार्फत नेपाली र अंग्रेजी दुवै भाषामा आवेदन माग गर्ने तयारी भइरहेको छ। सफ्टवेयर निर्माण भएपछि घरबाटै आवेदन गर्न सकिन्छ। त्यसका लागि विभागको कार्यलयमा समेत जानु  पर्दैन । कसैले इजरायलको रोजगारी मिलाइदिन्छु भन्छ भने त्यो सरासर गलत मानिन्छ । सरकारले खाडी र मलेसिया रोजगारीमा जाँदा रोजगारदाताले नै जहाज टिकट तथा भिसा शुल्क व्यहोर्नुपर्ने नियम लगाएको छ । तर सरकारले नै पठाउन लागेको इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क भने कामदार आफैंले तिर्नुपर्ने छ ।

इजरायलले अन्य मुलुकहरुसँग फ्री भिसा तथा फ्री टिकटको सुविधा नदिएकाले नेपाली कामदारलाई सो सुविधा दिन नसकेको मन्त्रालयका अधिकारीहरुको भनाइ छ । ५ वर्ष करार अवधि रहने इजरायल रोजगारीमा जाने श्रमिकले आउने जाने खर्च, बीमालगायतका रकम आफैं तिर्नुपर्ने उल्लेख गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्