थारु संस्कृतिमा माघी



अमिता चौधरी
दाङ, ३० पुस । मकर संक्रान्ति बाट सुरु भई माघ महिनामा थारु समुदायले मनाउने महान पर्व माघी हो । यो थारु समूदायका लागि आर्थिक बर्षको सुरुवात संगै माघे संक्रान्ति थारु कमैया कम्लरीहरुको मुक्ती दिवशको रुपमा पनि लिने गरिन्छ । यो एक सामाजिक, सांस्कृतिक सदभाव बोकेको पर्व पनि भनिन्छ ।थारुहरु यो पर्वलाई बर्का टिउहार पनि भन्दछन्न् त्यसैले एक दुई महिना अघिदेखी नै तयारीमा जुटेका हुन्छन् । थारुहरुले माछालाइ प्रमुख खाने परिकारको रुपमा लिने गरेकाले केहि महिना अघि देखि नै नजीकैको खोला, नदिमा बाँध बाँघी वनस्पतिका हाँगाबिगा पानीमा राखी माछा पाल्ने गर्दछन् । जसलाई थारुहरु “भिउरा डर्ना” भनिन्छ ।

यस पर्वमा जाँडलाई पनि खाने कुराको रुपमा लिइन्छ । त्यसैले जाँड बनाउने, पिठो पिसाउने, वनबाट साल अथवा सँख्वा र मालुका को पात ल्याएर दुना टपरी खुट्ने, मासु, ढिक्री पकाउनलाई दाउरा ल्याउने गरिन्छ ।
थारु समुदायले मनाउने पर्व मध्ये यो पर्वलाई मुख्य पर्वका रुपमा लिने गरिन्छ । त्यसैले उनीहरु माघ महिना नलाग्दै यस पर्वको तयारीमा जुटेका हुन्छन् । घरकी वृद्ध महिलाले बैठक कोठा अर्थात बह्रीमा बसेर साधारण तरकारी चट्नी खाने चिह्री डोनी सानो आकारको दुनो र जाँड, मासु खान डोस्टी डोनी वा ठूलो आकारको दुनो र भात, खिचडी, रोटि खान टपरी खुट्न्निे प्रचलन रहेको छ ।

यो पर्व नजिकिनु पूर्व नै गाँउका घरमुलीहरु गरढु¥या अर्थात मटाँवा गाँउमूली को घरमा भेला भएर ख्याला कर्ना कसले कती मासु खाने र कसको घरमा कतीवटा सुंगुर छ । सो माग अनुसारको मासु नपुगे अनेत्र बाट ब्यवस्थापन गर्ने कि भनेर योजना बनाउने गरिन्छ । थारुहरु यो पर्वमा खानपिनको साथसाथै मनोरञ्जन, नयाँ कार्यको सुरुवात गर्ने भएकाले पाँच दिन धुमधामका साथ मनाउने गर्दछन् ।

पहिलो दिन
पौष महिनाको अन्तिम दिन माघी पर्वको पहिलो दिन यस दिनमा सुंगुर मारेर मासु खाई पर्व मनाउने भएकाले यस दिनलाई “जिटा मर्ना डिन” भनिन्छ । गाउँका गरढु¥याहरु सुंगुर मारी मासु भाग बण्डा गर्ने र अन्य सदस्यहरु नदि खोलामा “भिउँरा” माछा मार्न जानेगरिन्छ ।
घर गढुन्र्या घरमूली महिला ढिक्री बनाउन ब्यस्त रहने गर्दछन् । ढिक्री धेरै प्रकारका भएपनि माघीमा लठ्ठी आकारको “लठ्ठा ढिक्री” मात्र बनाउने गरिन्छ । बालबच्चाहरु गाँउघरमा खेल्न मस्त भएका हुन्छन् भने सो दिन साच्चीकै गाँउ घर रमाईलो देखिन्छ । सबैको घरघरमा मिठो मिठो परीकार पाकेको हुन्छ ।

जब साझँ पर्दै जाने क्रममा घरका सबै सदस्य बैठक कोठा अर्थात बह्रिमा जम्मा हुने गर्दछन् । खानपीनका लागि घरमुली पत्नीले गरढुर्या माछा, मासु, ढिक्री आदि खानेकुरा सबैलाई बराबर दिई आफू पनि खान बस्ने प्रचलन रहेको छ ।
यसरी रमाउदै खादै बर्षभरीको थकान मेटाउँदै एक आपसमा मेलमिलाप भाइचाराको भावना दर्शाउँने गरीन्छ । आफनो घरमा खानपिन पछि एकले अर्काको घरमा गई माघी मान्नेक्रम शुरुहुन्छ ।

गाउँघरमा मेलमिलापको भावना देखाउदै बर्षभरीको रिसराग मेटाउँने गरीन्छ । जाँड लागेर आफु हिड्नै नसक्ने अबस्थामा पुगेका थारुहरु एकले अर्कालाई डो¥याएर आफनो घरमा लगी फेरी त्यहि जाँड माछा मासु खान दिने गरीन्छ । एक आपसमा कुरा गर्छन केहि बितेका कुरा केहि आउने कुरा नसामा लट्पटिएको अस्पष्ट बोली सुनिरहुँ लाग्छ । यसरी एक अर्काको घरमा जाने खाने गर्दागर्दै रात ढल्केको पत्तै हुदैन । बर्षभरीको थकाई मेटाउँने पर्वको रुपमा लिने थारुहरुको आँखामा निन्द्रा नभई आलश्य मात्र देख्न सकिन्छ । उसो त जाडोको याम भएकाले प्रोढ तथा बुढापाकाहरु गोलबद्ध भई आगो ताप्दै “ढुमरु” थारु शास्त्रीय गीत गाउँन थाल्ने गरीन्छ ।

दोस्रो दिन
माघ महिनाको पहिलो दिन अर्थात माघी पर्वको दोस्रो दिन खानपिन गर्दागर्दै ढुमरु गाउँँदा गाउँदै “कुखुरी काँ” थारुहरुको घडीले अलार्म बजाउँछ । एउटा कुखुरा बोले पछि गाँउभरीका कुखुराहरु त्यसैगरी बास्न थाल्छन् । माघी पर्वको दोस्रो दिन यसरी सुरुहुन्छ । गाउँका सबैजना नजिकैकौ खोला, नदीमा नुहाउन जान्छन । माघ महिनाको कठ्याङ्ग्रीदो जाडोमा “सखी ए हो १ माघक पिली गुरी जाँर , सखी ए हो”
अर्थात माघ पर्वको उल्लासमा मीठो मीठो जाँरको झोल पिएका छौँ हामीले त । बोलको गीत गाउँदै घरघर बाट वालवालिका, युवायूवती सबै रमाउदैँ जाने नुहाउने आउने गर्नाले पनि जाडो भएको महशुस गर्दैनन । नुहाई सकेर द्रब्य दान गरेर आआफनो घर फर्किन्छन् । थारुहरुको हरेक कार्यमा गाईने गीत हुन्छ । नुहाएर फर्किदा टोपी पानी घाटमै छुट्यो कि भन्दै यसरी गीतबाटै सोधिन्छ ।

नुहाएर घर आएपछि छुट्टाछुट्टै ढकीमा राखिएको चामल, उर्दको दाल, नुन एकएक पसर निकालि छुट्टाछुट्टै टपरीमा राख्ने गरिन्छ । यसलाई थारुहरु “निस्राउ कहर्ना” भन्दछन । यसरी निकालिएको दाल, चामल चेलीवेटीलाई दिने गरिन्छ । त्यसपछि आफूभन्दा ठूला मान्यजनलाई ढोकभेट गर्छन। त्यसपछि खाने कार्य सुुरु हुन्छ । घरका बुहारीहरु आफूभन्दा ठूलालाई मान मर्यादापूर्वक खाने कुरा दिनेगरिन्छ । आजको खाने कुरामा ढिक्री, मासु, खिचडी, अनदीको रोटी, जाँड विशेष हुन्छ । विहानै यी खानेकुरा खाईसकेपछि दिउसोको खानाखाने समय हुन्छ । जसलाई थारुहरु “कल्वा खईना” भन्दछन । सबैजना सँगैबसी फेरि खाना खान थाल्दछन । यसरी सँगै खाना खानु थारुहरुको पुस्तौँ देखिको चलन हो । यसरी खाईसकेर थारुहरु उमेर गत रुपमा आफनो गु्रप बनाई मघौटा नाच नाच्न शुरु गरिन्छ ।

नाच्ने नर्तकीले लहंगा, चोल्या, सिरमा घुम्टो घुर्घुट, काँधदेखि कम्मर सम्म “सटकी” हुन्छ । अरु थारु गरगहनाले सजाइएका हुन्छन् । मादले पुरुष होस वा महिला कम्मरमा मादल बाधेँका हुन्छन् । समूहमा कसैले झ्याली कसैले कस्टार बोकेका हुन्छन । एउटाले गीतको बोल उठाने गर्छ भने अरुले त्यो बोललाई टिप्छन्ने गरिन्छ । यसरी प्रत्येक घरघरमा नाँच्दै, अनदीको झोल पिउँदै थारुहरु रमाउने गरिन्छ, जसलाई “माघ मन्ना” भनिन्छ ।

तेस्रो दिन

माघ महिनाको दोस्रो दिन तर माघ पर्वको तेस्रो दिनलाई थारुहरु “माघी डेवानी” भन्दछन । आजको दिन घरघरका गरढु¥याहरु माटोको भाँडोमा जाँड रक्सी, बाँसको सानो छिट्नीमा तरकारी लिएर मटावाँको घरमा जम्मा हुनेगरिन्छ । गाउँको प्रमुख मटाँवा र गाउँलेहरु बीच आज बितेको बर्षको कार्य समिक्षा, भावी कार्य योजना, नयाँ कार्यको थालनी गर्ने लगायतका बिषयमा ब्यापक छलफल हुने गर्दछ । मटावाँको घरमा माघी मनाउदै गाउँघरमा हुने नयाँ योजनाको कार्यान्वयन कसरी गर्ने रु गाउँ ब्यवस्थापन देखि लिएर घर ब्यवस्थापन सम्मका विषयमा छलफल हुन्छ । यसरी समूदायमा आपसी सदभाव बढाउनका लागि यो पर्वको महत्व रहेको छ ।

चौँथो दिन

आज माघ महिनाको तेस्रो दिन तर माघ पर्वको चौँथो दिन अर्थात अन्तिम दिन । आजको दिनलाई “जन्हीनक माघ” अर्थात महिलाहरुको माघी भनिन्छ । अरु समयमा कामबाट उन्मूक्ती नपाउने थारु महिलाहरु आजको दिन पूर्ण रुपमा स्वतन्त्र हुन्छन् । त्यसैले आफनो उमेरगत समूह बनाई महिला यूवतीहरु माघीमा जाँड पिएर स्वतन्त्रता पूर्वक हिड्ने र बोल्ने गर्छन । थारु महिलाहरुले आजको दिनलाई स्वतन्त्रताको दिनकोरुपमा लिने गर्दछन् ।

मघौटा नाँच नाँच्दै थारु महिलाहरु
बृद्धाहरु भने योवनावस्था संम्झीने अनि एकै ठाउँ बसेर मघौटागीत गाउँने गर्दछन । जाँडको झोलले लरबरीएका बृद्धहरु मानसिक रुपमा यसरी नै रमाउँने गर्दछन् । रात न दिन महिलाहरु आज एक गाउँबाट अर्को गाउँसम्म पुग्नेगरिन्छ । यसै मघौँटा नाचलाई माध्यम बनाएर कैयौँ यूवायूवती माया पिरतीमा बाँधिन्छन्न् । एकदमै गरिबीको रेखामुनी रहेका छोरीहरु भने आजको दिन आफनो नयाँ लुगा गहना नभएकोले बुवा आमासंग गुनासो गर्ने गर्दछन । साथीहरुको “गोहि” अगाडि आफ्नो केहि नभएको महशुस गर्छन । हरेक मान्छेको जिवनको सुखदुःख पोख्ने पर्व हो माघी । थारुहरु यसरी नै माघी पर्वलाई ब्यबस्थापन, सद्भावको रुपमा लिने गर्दछन । थारुहरुको लोक जीवनमा माघीपर्व कसरी आयो यो भने खोजी गर्नुपर्ने देखिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्