Banner Second

विदेशी लगानीका लागि राष्ट्र बैंकबाट अनुमति लिनु नपर्ने व्यवस्थाले खुशी छौंः परिसंघ

By थाहा अनलाइन

February 15, 2021

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । मौद्रिक नीतिले कोभिड-१९ ले सिथिल बनाएको अर्थतन्त्र, उद्योग व्यवसायलाई राहत भई व्यवसाय सञ्चालनमा थप राहत हुने परिसंघले जनाएको छ ।

अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ध्यान दिएको परिसंघको बुझाइ छ । कर्जाको व्याज दरलाई वान्छित सीमामा राखि व्यवसायलाई सहज वातावरण बनाउन खोजिएको समेत परिसंघले जनाएको छ ।

कोभिड-१९ को समयमा गरिएको कर्जाका विशेष व्यवस्था, कर्जा पुनर्तालिकिकरण गर्न पाउने समयमा थप जस्ता कदमले व्यवसाय पुनरुत्थान हुँदै दीगो समेत रहने परिसंघको विश्वास छ ।

तेश्रो मुलुकबाट ड्राफ्ट/टिटीको माध्यमबाट वस्तु आयात गर्दा भुक्तानी गर्ने रकम बढाइनु, भारतबाट विदेशी मुद्रामा आयात गर्ने वस्तु थप हुनु, स्वचालित तवरबाट नियमनकारी निकायबाट स्वीकृत भएको विदेशी लगानीको लागि राष्ट्र बैंकबाट अनुमति लिई रहनु नपर्ने व्यवस्थाले उद्योग व्यवसायलाई थप हौसला दिने परिसंघले जनाएको छ ।

यस्तै विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा बढाउने तथा क्यूआरबाट हुने भुक्तानीलाई बढवा दिने समेत मौद्रिक नीतिका सकारात्मक पक्ष रहेको परिसंघले जनाएको छ ।