ओलीको सिध्याउन सकिन्छ भन्ने उद्धेश्य भए त्यसको पतन हुन्छ- प्रचण्ड



चितवन। संस्थापन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीले माडीमा राम मन्दिर बनाउने कुरा प्रचण्ड सिध्याउन सकिन्छ भन्ने उद्धेश्यले ल्याइएको बताएका छन्।

चितवनको भरतपुरमा निर्माणाधीन महानगरको गौरवको आयोजना सिटीहल र पुल्चोक गोन्द्राङ ६ लेन सडकको अवलोकनपछि पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै उनले मेरो निर्वाचन क्षेत्रमा राम जन्मेको पुष्टि भएर, राम मन्दिर बन्छ भने नेताहरुमध्ये म जत्तिको खुसी को हुन्छ भन्दै ओलीमाथि प्रतिप्रश्न तेस्र्याए। उनले भने, ‘‘ओलीजीले यसलाई पुरातात्विक अन्वेषणबाट स्थापित र प्रमाणित गर्न के गर्नुभयो, त्यसका लागि एउटा माखो नमार्ने, सिन्को नभाँच्ने, अनि होहल्ला मात्र गर्ने।’

होहल्ला नगरेर प्रमाणित गरेर देखाउन प्रधानमन्त्रीलाई चुनौती दिँदै उनले त्यसमा सबैभन्दा बढी सहयोग आफूले गर्ने बताए। राम मन्दिर बनाउने कुरा राजनीति गर्न र प्रचण्ड सिध्याउन अभियान चलाउन मात्र ल्याइएको भन्दै उनले त्यस्तो हो भने ओली आफैं गड्ढामा पर्ने उल्लेख गरे।

भरतपुरमा निर्माणाधीन सिटी हल र ६ लेनको सडक आफूले ल्याउन पहल गर्ने र ओलीले रोक्न बल गर्ने गरेको स्मरण गर्दै यसमा पनि चितवनका जनता र जनप्रतिनिधि जित्न सफल भएको उनले सुनाए।

पत्रकारहरुको जिज्ञासामा संसद पुर्नस्थापना भयो भने त्यसपछिको प्रधानमन्त्री तपाई नै हो भन्ने प्रश्नमा अध्यक्ष दाहालले मैले आमसभामै सार्वजनिक रुपमै भनिसकेको छु कि मलाई प्रधानमन्त्री हुने लोभ नै छैन, यो भ्रम कसैलाई नपरोस् भन्दै प्रचण्डले आन्दोलनको नेतृृत्व प्रधानमन्त्री बन्न गरेको हो भने त्यो गलत रहेको औल्याए।

आन्दोलन लोकतन्त्र र संविधान बचाउनका लागि रहेको बताउँदै उनले अहिले हासिल यो उपलब्धी धेरै ठूलो संघर्षबाट आएको दोहोर्‍याए। अन्य दलसंग संयुक्त आन्दोलनको सम्भावना कति छ भन्ने प्रश्नमा अध्यक्ष दाहालले प्रतिपक्ष दल काँग्रेसका सभापति शेरबहादुर, रामचन्द्रसँगै र जसपाका केही नेताहरुसँगै पनि कुराकानी भइरहेको बताउँदै ढिलोचाँडो संयुक्त आन्दोलन हुने विश्वास व्यक्त गरे।

अलोकतान्त्रिक र असंवैधानिक कदममार्फत् चुनाव नै भए त्यो पनि असंवैधानिक, अवैधानिक हुने तर्क राख्दै उनले भने, ‘अहिलेको अवस्था त संविधान ‘डिरेल’ हुने हो कि भन्ने खतरा पैदा भएको छ, त्यसलाई ट्रयाकमा ल्याउन नै यो आन्दोलन, संघर्ष भइरहेको छ। अहिलेको कदम नसच्चिए अब हुने चुनावबाट आउने प्रधानमन्त्रीले जतिबेला पनि संसद विघटन गर्न सक्छ, र त्यो नजिर बन्ने पनि भएकाले यो दुष्प्रयासलाई कदापि सफल हुन दिनु हुँदैन।

सर्वोच्च अदालतबाट पुर्नस्थापना नभए के हुन्छ भन्ने सञ्चारकर्मीले बारम्बार गरेको प्रश्नमा अध्यक्ष दाहालले देश अराजकताको भूमरिमा पर्ने, देशमा अतिवाद फैलिने, दक्षिणपन्थी अतिवाद, वामपन्थी अतिवाद फैलिने खतरा रहेको बताए। अर्को प्रश्नमा उनले निर्वाचन आयोगले आफैले ४४१ जनाको केन्द्रीय कमिटि रहेको फैसला गरिसकेकाले यसको बहुमतलाई मान्यता दिनैपर्छ भन्दै आफ्नो अडान दोहोर्‍याएका छन्।

माडीलाई मणि बनाउने कुरा आफूहरुले गरेकै हो बताउँदै उनले माडीमा विकास जति हुनुपर्ने हो, त्यति नभएकोमा प्रधानमन्त्री ओली नै दोषी रहेको बताए। उनले भने, ‘‘माडीमा विकास नभएको पनि होइन, माडीमा अहिले सडक, पुलपुलेसाका काम धमाधम भइरहेको छ, विकासको लहर पनि चलेको छ।’

माडीको कृषि क्षेत्रमा विविधिकरण गर्न युवाहरुमा पनि जागरण बढेको बताउँदै उनले प्रधानमन्त्री ओलीजीको विकास विरोधी, निषेधात्मक, प्रतिक्रान्तिकारी सोचका बाबजुद पनि माडीमा भएको विकासले आफू सन्तुष्ट रहेको बताए। उनले विगतमा कृषि र भूमि मन्त्रालय एउटै रहेको उल्लेख गर्दै त्यही समयमा सुकुम्बासी र भूमिसम्बन्धी समस्या समाधानका लागि आफूले पहल गरिरहेकै बेला प्रचण्डले अब कृषि र भूमिमा क्रान्ति ल्याउने भो भन्दै तत्कालिन मेरो र सबैभन्दा इमान्दार मन्त्रीलाई हटाएर दुईवटा मन्त्रालय बनाएको बताए।

आफू कृषि सम्बन्धी नै अध्ययन गरेको र त्यसमा पनि यो विषयमा आफ्नो चासो रहेकोले प्रचण्डले यो क्षेत्रमा क्रान्ति गर्ने भयो भन्दै ओलीले नयाँ भूमि ऐन ल्याउन नदिएको आरोप पनि लगाए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्