काठमाडौं। बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले उनकै सहपाठीलाई पक्राउ गरेको छ। भागरथीको छिमेकीसमेत रहेका उनलाई बुधबार सार्वजनिक गर्ने तयारी छ ।
घटनाको १३औँ दिन प्रहरीले उनलाई पक्राउ गरेको हो। आरोपी युवाले सुरुमा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएको प्रहरी स्रोतको दाबी छ। भागरथीको बलात्कारसमेत भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरिसकेको छ ।
‘आरोपी भागरथीका छिमेकी तथा सहपाठी हुन्, सो दिन विद्यालयबाट फर्किँदा बाटोमा बलात्कार तथा हत्या गरेको उनले स्विकारेका छन्। भोलि (बुधबार) उनलाई सार्वजनिक गर्दै छौँ,’ सुदूरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले मंगलबार राति नयाँ पत्रिकासँग भने ।
स्थानीय सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथी २१ माघमा विद्यालयबाट फर्किँदा सम्पर्कविहीन भएकी थिइन्। अर्को दिन स्थानीय लवलेक जंगलमा उनको शव भेटिएको थियो। प्रहरी स्रोतका अनुसार पक्राउ परेका ती युवकले अभियोग स्विकारेका छन्।
यति जघन्य अपराधमा पक्राउ परेका आरोपीले बदला लिन यो घटना गराएको बहाना बनाएका छन्। ‘छिमेकी दुई परिवारबीचमा पुरानो रिसइबी देखिन्छ, भागरथीका बाबुको पालाको प्रतिशोध लिन छोरीलाई बलात्कार गरेको बयान आरोपीले दिएका छन्,’ अनुसन्धानमा आबद्ध एक अधिकृतले भने । अन्य परिस्थितिजन्य प्रमाणले पनि उनको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ। तर, उनलाई पक्राउ नगरी प्रहरीले केही दिन निगरानीमा मात्र राखेको थियो।
उनीविरुद्ध पर्याप्त प्रमाण भेटिएपछि पक्राउ गरिएको स्रोत बताउँछ। भागरथीको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीय विद्यार्थीले गरेको प्रदर्शनमा आरोपी पनि सहभागी हुँदै आएका थिए। ‘समाजमा उनको पृष्ठभूमि नकारात्मक थियो, त्यसैले बसाइँ सरेर एक किलोमिटर पर गएका थिए,’ भागरथीका काका शिवराजले नयाँ पत्रिकासँग भने, ‘यो घटनालगत्तै त्यो केटो डराएको देखिन्थ्यो, ऊ आफैँ संलग्न थियो अथवा उसले केही देखेको थियो भन्नेमा हामी ढुक्क थियौँ। आज त उसले साबिती बयान दिएको सुन्यौँ ।’
घटनाको अनुसन्धानका लागि सुदूरपश्चिमका प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदी १० दिनदेखि घटनास्थल बैतडीको दोगडाकेदार गाउँमै छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट समेत डिएसपीको कमान्डमा प्रहरी टोली खटिएको छ ।
निर्मला पन्त प्रकरणमा असफलताले गर्दा प्रहरी दबाबमा थियो । अहिले पनि १३ दिनसम्म दोषी पक्राउ नपर्दा प्रहरीको क्षमतामाथि प्रश्न उठिरहेका छन्। प्रहरी अनुसन्धानमा शंका गर्दै पीडित परिवारले अहिलेसम्म शवसमेत बुझेका छैनन। तर, प्रहरीले भने शंकास्पदलाई पक्राउ गरेर सोध्नेभन्दा पनि प्रमाण संकलन गरेर अभियुक्तलाई घेर्ने नीति लिएको र त्यसमा सफल भएको दाबी गरेको छ।
भागरथी हत्याको १३औँ दिन पनि बैतडीका विभिन्न ठाउँमा आन्दोलन जारी रह्यो । विद्यार्थीले जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गर्दै दियो बालेर विरोध जनाए। त्यस्तै, दोगडाकेदार गाउँपालिकामा निरन्तर प्रदर्शन हुँदै आएको छ। स्थानीयले तीन दिनदेखि घन्टी जुलुस गर्दै आएका छन्।
पीडित परिवारलाई पाँच लाख दिने प्रदेश सरकारको घोषणा
सुदूरपश्चिम सरकारले भागरथीको परिवारलाई पाँच लाख राहत दिने घोषणा गरेको छ। मंगलबार उक्त निर्णय भएको प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्टले जानकारी दिए। ‘पीडित परिवारलाई राहतस्वरूप सरकारले उक्त रकम प्रदान गर्ने घोषणा भएको छ,’ उनले भने ।
भागरथीको हत्या भएको १३ दिनसम्म पनि सुदूरपश्चिम सरकारका आधिकारिक प्रतिनिधि कोही पनि भागरथीको गाउँ नपुगेको भनेर सार्वजनिक आलोचना भएको थियो। आइतबार प्रदेश सभाकोे सामाजिक विकास समितिकी सभापति कुन्ती जोशीसहितको टोली भने घटनास्थल पुगेको थियो। नयाँ पत्रिकाबाट

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।