राष्ट्रिय महत्त्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुन निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई काठमाडौँ महानगरपालिकाले खुला गर्ने पहल सुरु गरेको हो।
‘राष्ट्रिय महत्त्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरू र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि उहाँहरूको आग्रहमै सहमति दिएका थियौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले भने, ‘वीर अस्पताल र दरबार हाईस्कुलको पुनर्निर्माण अन्तिम चरणमा पुगेपछि जानकारी दिएर खुलामञ्चलाई खुला गर्ने अभियान थालेका हौँ।’ उनले बिस्तारै बसपार्क पनि खुला गर्ने जनाएका छन्।
‘काठमाडौँ महानगरपालिका सार्वजनिक जग्गाको संरक्षण अभियानमा लागि परेको छ,’ शाक्यले भने, ‘खुलामञ्च मात्रै होइन महानगरपालिका क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गालाई महानगरपालिकाले खोजी गरी पार्क बनाउने, खुला राख्ने जस्ता अभियान चलाएको छ। त्यस्तो कतै जानकारी छ भने हामीलाई भन्नुहोला।’ काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले प्रमुख शाक्यको निर्देशन अनुसार नै खुला गर्ने अभियान थालेको जानकारी दिए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।