छिमेकी देश भारत र चीनकाे तुलनामा नेपालकाे इन्टरनेट सस्ताे



काठमाडाैं। विश्वव्यापी इन्टरनेट पुहँचको विषयमा नयाँ प्रतिवेदन सार्वजनिक भएको छ। बेलायती अनुसन्धान संस्था ब्रोडब्याण्ड च्वाइसले हालै इन्टरनेट एक्सेसिबिलिटी इन्डेक्स–२०२१ सार्वजनिक गरेको हाे।

१६९ देशको ब्रोडब्याण्ड तथा मोबाइल पूर्वाधारका आधारमा उक्त प्रतिवेदनले नयाँ तथ्य बाहिर ल्याएकाे छ। प्रतिवेदनअनुसार एक्सेसिबिलिटी इन्डेक्समा नेपाल ६५.४ अंक प्राप्त गर्दै १३२ औं स्थानमा रहेको छ।

प्रतिवेदनले विभिन्न मापण्डका आधारमा उक्त अध्ययन गरेको हाे। जसमा फिक्स्ड ब्रोडब्याण्डको गति, होम इन्टरनेट प्याकेजको मूल्य, मोबाइल डेटा (प्रति जीबी), इन्टरनेट पुहँचमा रहेको देशको जनसंख्या समेटिएको थियो।

यसका साथै मोबाइल इन्टरनेट, कभरेज, सार्वजनिक रुपमा उपलब्ध वाईफाई हटस्पटको संख्या र आफ्नै भाषमा सञ्चालनमा रहेका वेब पेजको हिस्सालाई आधार मानी प्रतिवेदन तयार पारिएको उल्लेख गरिएको छ।

प्रतिवेदन अनुसार इन्डेक्समा सबैभन्दा अघि डेनमार्क रहेको छ। एउटा मात्रै इन्टरनेट सेवा प्रदायकको आधिपत्य रहेको डेनमार्कमा इन्टरनेट सस्तो हुनुका साथै गुणस्तरीय र द्रुत गतिको समेत रहेको उल्लेख छ।

यसैसन्दर्भमा प्रतिवेदनले छिमेकी देश भारत र चीनकाे तुलनामा नेपालकाे इन्टरनेट समग्रमा सस्ताे देखाएकाे छ। प्रतिवेदनअनुसार सस्ताे इन्टरनेट हुने देशकाे सूचीमा नेपाल १६९ देशमध्ये १३औं स्थानमा छ।

नेपालमा इन्टरनेट सेवाकाे न्यूनतम मासिक शुल्क औषतमा १३.८ डलर अर्थात १६ सय रुपैयाँको हाराहारीमा रहेको साे प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार सबैभन्दा सस्ताे इन्टरनेट हुने देश युक्रेन हाे। त्यहाँ प्रति महिना इन्टरनेटकाे मूल्य औषतमा ७ डलर मात्रै रहेकाे छ। जबकि छिमेकी देश भारतमा प्रतिमहिना इन्टरनेटकाे मूल्य १४.६ डलर र चीनमा २४ डलर रहेको छ। भारत र चीन एक्सेसिबिलिटी इन्डेक्समा क्रमश: १०८ र ११४ स्थानमा रहेका छन्।

समग्र मासिक शुल्कमा सस्ताे भएपनि माेबाइल डेटामा भने नेपाल ६२ औं स्थानमा छ। जबकि भारत माेबाइल डेटामा विश्वकै सबैभन्दा सस्ताे देशमा परेकाे छ। त्यहाँ एक जीबी डेटाकाे मूल्य औषतमा ०.४ डलर मात्रै रहेकाे छ।

चीन र नेपालमा भने एक जीबी डेटाकाे मूल्य समान ३/३ डलर रहेकाे छ। याे तथ्यांक देशकाे इन्टरनेट पुहँच र जनसंख्यालाई आधार मानेर निकालिएकाे बताइएकाे छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्