बैठकमा देउवा र पौडेलबीच सवाल-जवाफः कस्ले के भने ?



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सवाल–जवाफ भएको छ । खासगरी राष्ट्रिय राजनीतिका विषयमा कांग्रेसले लिने बाटोका विषयमा सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच सवाल-जवाफ भएको हो ।

पौडेलले संसद पुनःस्थापनका पक्षमा कांग्रेस उभिनु पर्ने, संवैधानिक परिषद्बाट भएका नियुक्ति असंवैधानिक भएकाले त्यसको खारेजीका पक्षमा उभिनु पर्ने र आएका अविश्वास प्रस्ताव आएका दुईवटा प्रदेशमा सरकारको विपक्षमा उभिनुपर्ने बताएका थिए ।

त्यसको जवाफ दिँदा पछिल्ला दुई प्रस्तावमा मौन बनेका सभापति देउवाले प्रतिनिधिसभा पुनःस्थापनाका विषयमा भने जवाफ दिएका थिए । “हामीले प्रतिनिधिसभा विघटन असंवैधानिक भनिसकेका छौं, त्यसविरुद्ध देशव्यापी आन्दोलन पनि गरिरहेकै छौं,” सभापति देउवाले प्रश्न गरे, “प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतको न्यायिक प्रक्रियामा छ । अब हामी जुलुस लिएर अदालतको गेटमा जाने ?” उनले कांग्रेसले संविधान र सुवतन्त्र न्यायालय दुबै मान्ने भन्दै त्यसका लागि सर्वोच्चको आदेश कुर्नुको विकल्प नभएको बताए ।

कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरेले नेताहरुबीच अव्यवहारिक विषयमा झगडा भइरहेको बताए । “रामचन्द्र दाईले संसद पुनःस्थापना गर्नुपर्छ तर सरकारमा जानु हुँदैन भन्दै हुनुहुन्छ । मेरो विचारमा त्यस्तो कुरा व्यवहारिक हुँदैन,” घिमिरेले भने, “संसद पुनःस्थापना भएपछि फेरि सरकार नबनेर विघटनमा पुर्याउने भए पुनःस्थापनाको के अर्थ हुन्छ ?” उनले संसद पुनःस्थापना भएपछि सरकारमा जाँदासमेत कांग्रेसको राम्रो भूमिका नहुने तर्क गरे ।

पुनःस्थापित भएर नेकपा फुट्यो नै भने पनि सिट संख्याका हिसाबले कांग्रेसको संसद्मा उपस्थिति बलियो हुँदैन,” घिमिरेले भने, “संसद पुनःस्थापनापछि कांग्रेसकै नेतृत्वमा सरकार बनिहाल्यो भने पनि २०५१ सालपछिको सूर्यबहादुर र लोकेन्द्रबहादुरको जस्तो बन्न सक्छ ।” उनले कांग्रेसले भावावेशमा नभएर उपयुक्त र परिपक्व निर्णय लिनुपर्ने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्