Banner First

विभागको अनुसार माघ महिनामा १७ हजार ८ सय ८७ श्रमिक विदेश पलायन

By Thah Online

February 18, 2021

फागुन ६, काठमाडौँ । स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिम कायमै रहेपनि नेपाली श्रमिकहरु वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो ।तर, त्यसअनुसार रोजगारी सृजना हुन नसक्दा कोरोना त्रासकै बीच पनि हजारौं नेपाली वैदेशिक रोजगारीमा गएको सरकारी तथ्यांकले देखाएको छ । नेपाली श्रमिकको आकर्षक गन्तव्य मानिएका खाडीका मुलुकहरुमा कोरोना भाइरसको संक्रमण घट्दै गएको र खोप लगाउँन सुरु भएसंगै रोजगारीका लागि विदेशिनेको संख्या बढेको हो ।

गत माघ महिनामा मात्रै पुरुष र महिला गरी १७ हजार ८ सय ८७ जना विदेशिएका छन् । रोजगारीका लागि विदेशिनेमा पुरुषको संख्या महिलाको तुलनामा धेरै रहेको छ । बैदेशिक रोजगार विभागका अनुसार उक्त महिनामा १४ सय ५१ महिला रोजगारीको लागि विभिन्न देश गएका छन् भने,१६ हजार ४ सय ३६ पुरुष विदेशिएका छन् ।माघ महिनामा रोजगारीको सिलशिलामा विदेशिएका नेपाली श्रमिकको रोजाइमा युएई,साउदी अरब,कतार,ओमान,बहराइन,कुवेत,मलेसिया रहेका छन् । सो महिनामा सबैभन्दा बढी श्रमिक संयुक्त अरब इमिरेट्स गएका छन् ।

४ हजार ५ सय ४९ पुरुष र ६ सय ५९ महिला गरी जम्मा ५ हजार २ सय ८ जना नेपाली युएई गएका छन् । यस्तै साउदी अर्ब ४ हजार ९ सय ७८ जना श्रमिक रोजगारीका लागि विदेशिएका छन् । त्यसपछि कतारमा ४ हजार ९ सय ६६ जना नेपाली रोज्गारिका लागि माघ महिनामा गएको बैदेशिक रोजगार विभागको तथ्यांक छ । यस्तै ओमानमा ३४४ जना रोजगारीको लागि गएका छन् भने मलेसियामा जम्मा १६ जना मात्रै गएका छन् ।