कुवेतमा विदेशी नागरिकलाई शर्तसहित आफ्नो मुलुक प्रवेशमा खुला गर्ने



काठमाडौं । खाडी मुलुक कुवेतले आप्रवासी कामदारसहित विदेशी नागरिकलाई शर्तसहित आफ्नो मुलुक प्रवेशमा खुला गर्ने भएको छ । कुवेतले आप्रवासीहरुका लागि लगाएको दुई हप्ताको यात्रा प्रतिबन्ध हटाउँदै फेब्रुअरी २१ तारिख अर्थात आगामी आइतबारदेखि कुवेत प्रवेश गर्न दिने भएको हो ।

कामदारसहित सबै प्रकारका आप्रवासीहरुका लागि दुई हप्ताको यात्रा प्रतिबन्धपछि आइतवारदेखि कुवेत प्रवेशमा अनुमति दिइने भएको स्थानीय सञ्चार माध्यमहरुले बताएका छन् । कुवेत जानेले अनिवार्य ७ दिन संस्थागत क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । आइतबार कुवेत पुग्ने विदेशी कामदारहरुले ७ दिन अनिवार्यरुपमा संस्थागत क्वारेन्टिन बस्नुपर्ने छ । संस्थागत क्वारेन्टिनको ७ दिन अवधि सकिएपछि होम क्वारेन्टिनमा पठाइने छ ।

यसअघि कुवेतले विमानस्थलमा कोरोना परीक्षण गरेर होम क्वारेन्टिन पठाउने गरेको थियो । कुवेतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अझै पनि उच्च जोखिमको अवस्थामा छ । प्रतिबन्धित ३५ देशबाट कुवेत जाने यात्रुहरुले १४ दिन क्वारेन्टिन बस्नुपर्ने छ । क्वारेन्टिनका लागि विदेशी नागरिक राख्न ४३ होटलको व्यवस्था गरिएको अरब टाइम्सले जनाएको छ ।

संस्थागत क्वारेन्टिन बस्दा सात दिन अर्थात ६ रातको होटलको भाडादर पाँचतारे होटलमा सिंगल रुम लिएमा २ सय ७० केडी, डबल बेडरूम लिएमा ३ सय ३० केडी, चारतारे होटलको सिंगल रूम लिएमा १ सय ८० केडी, डबल बेडरूम लिएमा २ सय ४० केडी, तीनतारे होटलको सिंगल रूम लिएमा १ सय २० केडी, डबल बेडरूम लिए १ सय ८० केडी खर्च हुने बताएइको छ ।

क्वारेन्टिन खर्च कामदार वा यात्रु स्वयंले व्यहोर्नु पर्ने छ । त्यसका लागि न्यूनतम ६८ हजार देखि अधिकतम १ लाख २७ हजार रुपैयाँसम्म खर्च हुने छ । फ्रि भिसा फ्रि टिकटमा जानुपर्ने वाध्यतामा रहेका नेपाली कामदारहरुका लागि उक्त खर्च क्षमता बाहिर रहेको व्यवसायीहरुहरु बताउँछन् ।

कुवेतको स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार प्रतिबन्धित देशहरूबाट कुवेत जानेहरूले जाँच गरेको ७२ घण्टा भित्रको कोभिड नेगेभिट रिपोर्ट देखाउनु पर्नेछ । कुवेतमा जानुअघि सबै यात्रुहरूले कुवेत मोसाफर एपमा आवेदन दर्ता गर्नुपर्ने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्