Banner First

बैदेशिक रोजगारीमा जाने कामदारलाई कहिले सम्म कोरोना खोप

By Thah Online

February 21, 2021

काठमाण्डाैं ।  सबै मुलुकहरूको अर्थतन्त्रमा ठूलो समस्या उत्पन्न भएको देखिन्छ। विश्वभर लाखौं श्रमिकहरुले जागिर गुमाएका छन। आत्महत्याको घटना पनि सार्वजनिक भइरहेका छन।नेपाल जस्तो सानो मुलुक कोभिड १९ को कारण उत्पन्न समस्याको सामना गर्न नसक्ला कि भन्ने ठुलो चिन्ता रहेको थियो तर चिन्ता गरे जस्तो क्षति नभएता पनि धेरै मानिसहरु बेरोजगार भएर सहरबाट गाउँतिर बसोबास सर्न बाध्य भए। गाउँघरका बाझो जमिनमा खेतीपाति गर्ने जमात बढेको भएता पनि उत्पादित बस्तुको बिक्री र उचित मूल्यको सुनिश्चितता नहुदाँ मानिसहरुमा कृषि प्रतिको मोह बिस्तारै घटदै जाने चिन्ता रहेको देखिन्छ ।

कृषि बाट परिवार र राष्ट्र आत्मनिर्भर हुनको लागि आधुनिक कृषि मा जानुको अरु विकल्प छैन जुन अहिलेको तरिका र ब्यवस्थालाई वृहत सुधार नगरी सम्भव छैन। करिब एक वर्ष पर्यटन क्षेत्र पुरै बन्द रह्यो। पैठारी जन्य वस्तुको उत्पादन र बिक्रीमा कमजोर नेपालको उद्योग ब्यवस्था ठप्पै हुँदा समेत विदेशी मुद्रा संचितिमा वृद्धि भयो ।

यसको प्रमुख कारण बैदेशिक रोजगारमा गएका नेपाली युवाहरुले पठाइरहेको रेमिट्यान्सले गर्दा नै हो भन्दा अनुचित नहोला। लामो पर्खाइ पश्चात् नेपालले कोभिड १९ भ्याक्सिन प्राप्त गरि स्वास्थकर्मी, प्रहरी,सरसफाइमा सम्लग्न श्रमिक,एम्बुलेन्स चालक, पत्रकार लगायत अन्य अग्रपपंक्ति कार्यरत वर्गलाई प्राथमिकतामा राखी खोप दिइरहेको छ।

केही दिन अगाडि नेपाल सरकार मन्त्रि परिषदले बीस लाख खोप भारतबाट खरिद गर्न एक अर्ब रकम अग्रिम भुक्तानी गर्ने निर्णय गरे अनुसार अब देशको अर्थतन्त्र बचाइ राख्ने ती रेमिट्यान्स हिरोहरुले खोप लगाउने अवसर पाउने हो कि भन्ने आशा गरिएको छ। मलेसिया र खाडी राष्ट्रमा त्यहाँ कार्यरत विदेशी श्रमिकहरुलाइ समेत प्राथमिकतामा राखेर खोप दिन शुरु गरिसकेको छ ।

विगत केही महिना देखि वैदेशिक रोजगारबाट घर बिदामा आएका पुनः स्वीकृति र नयाँ भिसा प्राप्त गरेका नेपाली श्रमिकहरु उडान तालिका अनुसार ७२ घण्टा पिसिआर नेगेटिभ रिपोर्ट लिएर यात्रा गरिरहेका छन। पिसिआर रिपोर्टको लागि दुई देखि तीन हजार सम्म रकम खर्चिनु परेको सुनिन्छ।

नेपाल सरकारले सम्भव भए निशुल्क, सम्भव नभए ४६५ रुपैयाँ अर्थात ४ डलर लिएर भए पनि वैदेशिक रोजगारमा जानको निम्ति इजाजतपत्र प्राप्त कम्पनी म्यानपावरमा अन्तरवार्तामा सफल भएका श्रमिकहरुलाई म्यानपावर कम्पनीको सिफारिसमा पहिलो चरणको खोप लगाउने ब्यवस्था मिलाइदिनु पर्ने आवश्यक देखिएको छ। भिसा प्राप्त गरि उडानको तयारीमा रहेका श्रमिकहरुलाई दोस्रो चरणको खोपको समेत ब्यबस्था गरि खोप लगाएको कागजात अनुसार हवाई यात्रा गर्न मिल्ने हुन सके धेरै राम्रो हुने थियो।

सम्बन्धित मुलुकमा पुगेपछि क्वारेन्टाइनमा बस्नु नपर्ने विषयमा कुटनैतिक समन्वय मार्फत निर्णय गर्न सके वैदेशिक रोजगारमा जान बाध्य बेरोजगार युबाहरुलाइ आर्थिक भार कम हुने देखिन्छ।

वैदेशिक रोजगारको यात्रा समेत सुरक्षित हुने नेपाल सरकारका सम्बन्धित मन्त्रालयलाई हार्दिक अनुरोध गर्दछु। अबको केही समय पश्चात् कोभिड १९ खोप नलगाई आफ्नो मुलुकमा प्रवेश गर्न नदिने अधिकांश मुलुकले नीति अबलम्बन गर्ने सम्भावना रहेको हुँदा वैदेशिक रोजगारमा जाने बेरोजगार युवाहरुको हितमा यथाशक्य नितीगत ब्यवस्था र पहल गर्न परराष्ट्र र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तत्काल लाग्नु पर्दछ ।