Banner Third

६६ करोड रुपैयाँको आइपिओ निष्कासन गर्दै ज्योति लाइफ इन्स्योरेन्स

By Thaha - Online

February 21, 2021

प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ। कुल चुक्ता पुँजीमा कम्पनीले ३० प्रतिशत साधारण सेयर निष्कासनका लागि बोर्डबाट स्वीकृति पाएको हो।

अंकित मूल्य १ सयको दरमा कम्पनीले कुल ६६ लाख कित्ता अर्थात ६६ करोड रुपैयाँको आइपिओ निष्कासन गर्नेछ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी पछिबाट खुलेको बीमा कम्पनी हो। नयाँ कम्पनीमध्ये प्रभु र रिलायन्स लाइफले यसअघि नै आइपिओ जारी गरेका छन्। पछिबाट खुलेका कम्पनीहरु आइएमई, युनियन, रिलायबल, सिटिजन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ।

कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा मंसिर १९ गते निवेदन दिएको थियाे। कम्पनीले आईपीओ निष्कासन गर्नको लागि विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले आईपीओ निष्कासन गर्नेछ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५४ करोड रहेको छ। ६६ लाख कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट गरेपछि पूँजी २ अर्ब २० करोड पुग्नेछ। कम्पनीले चालू आवको पहिलो त्रैमासमा गत आवको तुलनामा ९१ प्रतिशत नाफा वृद्धि गरेको छ।

कम्पनीले गत आवको पहिलो त्रैमासमा ३ करोड ७६ लाख ४१ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ७ करोड २२ लाख २२ हजार पुगेको छ।

चालू आवको पहिलो त्रैमासमा कम्पनीले जगेडा कोषमा ४६ करोड ५ लाख छुट्याएको छ भने जीवन बीमा कोषमा रू.२ अर्ब २५ करोडभन्दा बढी जम्मा गरेको छ। गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको बीमाशुल्क पुर्याएका आर्जन ९७ प्रतिशत वृद्धि भएको छ।

कम्पनीले गत आवको पहिलो त्रैमासमा २७ करोड ६५ लाखभन्दा बढी बीमाशुल्क आर्जन गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर ५४ करोड ५७ लाखभन्दा बढी गरेको छ। कम्पनीको प्रतिशेयर आम्दानी १८ दशमलव ७६ र प्रतिशेयर नेटवर्थ १३३ दशमलव २३ रहेको छ।