सामान्य अँकले बढ्यो नेप्से, २ करोड ४३ लाख बढीको कित्ता शेयर खरिदबिक्री



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ३ दशमलव ६६ अंकले बढेर २ हजार ६४० दशमलव ३४ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स भने २ दशमलव २० अंक घटेर ४७९ दशमलव ५८ विन्दुमा झरेको हो। आइतवार समग्र धितोपत्र कारोबार मापक नेप्से इन्डेक्स सामान्य अंकले उकालो लागे पनि ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने घटेको हो।

यस दिन बजारमा २०७ कम्पनीको ९३ हजार ३९ पटकको कारोबारमा ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार रुपैयाँ बराबरको २ करोड ४३ लाख ५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९१ कम्पनीको शेयरमूल्य बढेको छ भने १०७ कम्पनीको घटेको छ। बाँकी ९ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

यस दिन बजारमा पछिल्ला कारोबार दिनहरुको तुलनामा केही फरक देखिएको छ। पछिल्ला कारोबार दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरुमा झुम्मिएका लगानीकर्ताहरु यस दिन ती सेक्टरहरु छोडी अरु सेक्टरतर्फ लागेका छन्। यस दिन कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ६.४ प्रतिशत बढेको छ। त्यसैगरी, हाइड्रोपावर उपसमूहको ४.२९ प्रतिशत, विकास बैंकको १.०७ प्रतिशत र अन्यको १.८८ प्रतिशत बढेको छ। कारोबारमा आएका लघुवित्त र जीवन बीमा कम्पनीहरुको परिसूचक भने यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ६१ करोड ४२ लाख ६२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, गत साता मात्रै दोस्रो बजारमा कारोबार शुरु भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको यस दिन ५३ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन कारोबारमा आएका ६ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आइतबार अपर तामाकोशी, शिवश्री हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर, नेपाल हाइड्रो, चन्द्रागिरी हिल्स र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन कारोबारमा आएका कुनैपनि कम्पनीको शेयरमूल्य साढे ३ प्रतिशतभन्दा बढी घटेको छैन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्