ओलीसित टाँसिनका लागि वार्ता हुने होइन



खेम थपलिया । सामाजिक फासिवादी केपी ओली नेतृत्वको सरकारले अन्यायपूर्ण रूपमा थोपरेको प्रतिबन्ध यही फागुन २८ गते २ वर्ष पुग्दै छ । ठीक यतिबेला नै ओली सरकार र विद्रोही नेकपाका बीचमा वार्ताको सन्दर्भले नेपाली राजनीति अलि बढी नै गर्माएको छ । नेकपा कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लवले वार्ताका लागि सुपष्ट र सुविचारित दृष्टिकोण अघि सार्नुभएको छ ।

हामी सबैलाई थाहा छ, यो वार्ताबाट वैज्ञानिक समाजवादी राज्यप्रणाली स्थापना हुन सक्तैन । यद्यपि, नेपालको क्रान्तिकारी राजनीतिमा ध्रुविकरण, केन्द्रीकरण, एकता र अग्रगतिशील तीव्रतामा यो सन्दर्भ एउटा कोशेढुङ्गा हुन सक्ने प्रवल सम्भावना छ । कोही पनि आवश्यकता भन्दा बढी आशङ्कित हुन जरुरी छैन । यति छोटै समयमा नेपालको संसदीय व्यवस्थालाई अलग-थलग बनाउन एकीकृत जनक्रान्तिले गरेको योगदानलाई कोही कसैले अलिकति पनि अवमूल्यन नगरोस् ।

यो प्रफुल्लताको समय हुँदै होइन । यो खबरदारी, धैर्यता र संयताको समय हो । यो क्रान्ति बनाउने वार्ता हो, कतै गएर टाँसिने वार्ता होइन । यो असङ्ख्य अवसरहरूको चाङलाई लात हानेर क्रान्तिको रातो झण्डा उठाउनेहरूले एकाध पदको कल्पना गरेर हुन लागेको वार्ता होइन ।

यो नेपालको अधुरो रहेको राजनीतिक मुद्दा हल गर्ने पहलस्वरूपको वार्ता हो । यो वार्तामा जनक्रान्तिका महान् सहिदरूका आलो रगत, घाइते योद्धाहरूको मनोविज्ञान, जेल-हिरासतमा रहेका नेता-कार्यकर्ताको अटल आस्था एवम् आम उत्पीडित तथा श्रमजीवी जनसमुदायको सद्भाव अन्तरघुलित छ । खबरदार, कसैले पनि हातखुट्टा बाँधेर लौ दौड भन्ने, पखेटा बाँधेर लौ उड भन्ने जस्तो कुचेस्टा नगरोस् ।

कमरेड विप्लवलाई गोञ्जालो बनाउँछु भन्ने कल्पना त झन् गर्दै नगरोस् । जहाँ एकीकृत जनक्रान्तिको मार्गमा अवरोध सिर्जना हुनेछ, त्यही धक्कामूलक प्रतिरोध हुनेछ । फासिवादी शासकहरू महाषड्यन्त्रकारी हुने भएकोले सम्भावित परिस्थितिप्रति चौतर्फी रूपमा सबै चनाखो रहौँ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्