विप्लवसित वार्ता गर्न लागेको केहीलाई मन परेको छैनः प्रम ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिगत रुपमा राजनीति गरिरहेको   विप्लव समूहले सरकारसँग वार्ता गर्न सकारात्मक हुँदा अन्य राजनीतिक दललाई मन नपरेको आरोप लगाएका छन् ।

पाँचौं इन्द्रदह पर्यटन उत्सवलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवस्थाको विरोधमा हतियार उठाइरहेको विप्लव समूहले सरकारसँग वार्ता गरी समाधानमा जान्छौँ भनेर वक्तव्य निकालेपछि कतिपयलाई आतंक छाएको बताएका हुन् । विप्लव समूहले वार्ता गर्ने भएपछि उक्त समूहलाई प्रयोग गर्न चाहनेहरुमा छट्पटी भएको पनि प्रधानमन्त्री ओलीले बताए ।

पृथकतावादको कुरा गरिरहेको सीके राउत पृथकतावाद छोडेर राष्ट्रिय राजनीतिको मूलधारमा आउँदा पनि अरुलाई छट्पटी भएको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने, “हतियार उठाइरहेका, व्यवस्थाका विरोध गरिरहेका विप्लव समूहका नेता विप्लवले सरकारसँग वार्ता गर्छौं हामी, वार्ता गरेर समाधानमा जान्छौँ भनेर  वक्तव्य निकालेछन् । कतिपयलाई आतंक छायो ।

विप्लवलाई प्रयोग गरुँला कि भनेको त वार्ता गरेर समस्या समाधान गर्छु पो भन्न थाले देश त साँच्चै हरेक हिसाबले अगाडि बढ्छ कि क्या हो, पृथकतावादको कुरा गरिरहेको सीके राउत पृथकतावाद छोडेर राष्ट्रिय राजनीतिको मूलधारमा आउँछु भने । अब विप्लव वार्ता गर्छु भन्दै छन् । केहीलाई छट्पटी भएको छ ।”

उनले देश, जनता र विकासप्रति इमानदार भई योगदान गर्नुपर्ने पनि बताए । राष्ट्रिय एकता कायम गर्ने कुरामा र देशलाई एकजुट बनाएर लाने कुरामा एकताबद्ध हुनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते चुनाव हुने भन्दै चुनावी अभियानमा जुट्न पनि आग्रह गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्