चमत्कार बिना बैशाखमा चुनाव सम्भव छैन : पूर्वप्रमुख आयुक्त पोखरेल



  फागुन १० ,  काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले वैशाखमा चुनाव गर्ने समय घर्किँदै गएको बताएका छन्। पोखरेलले नेकपाको आधिकारिकता विवाद अहिलेको चुनावका लागि सबैभन्दा ठूलो चुनौति रहेको बताए।सरकारले घोषणा गरेको चुनावको मिति आउन ६७ दिन बाँकी हुँदासम्म नेकपा आधिकारिकता विवादले समाधान नपाएकोले चुनाव हुने सम्भावन कम रहेको उनले बताए। तोकिएको मितिमा निर्वाचन गराउन निर्वाचन आयोगका लागि अहिले बाँकी रहेको समय प्रयाप्त नहुने पोखरेलको भनाई छ।

‘नेकपाका दुवै पक्ष सहमतिमा आएर यसरी निर्वाचनमा जाउँ है भन्यो भनेचाहिँ प्राविधिक रुपमा आयोगले भ्याउन सक्ला। तर, यो राजनीतिक जटिलताका बीच पनि ६७ दिनमा भ्याउँछु भन्न निक्कै कठिन देखिरहेको छु,’ उनले भने।

पोखरेलले अगाडि भनेका छन्, ‘भगवानले त्यस्तो कुनै चमत्कार गरिदिऊन्, जसले गर्दा निर्वाचन हुने वातावरण बन्छ। यस्तो निर्वाचन होस्, जसले हामी सबैलाई खुसी बनाउन्। सबैभन्दा सम्भव चमत्कार भनेको नेकपाका दुबै पक्ष मिलेर चुनावमा जान तयार छौं है भन्नु हो। चमत्कार भएको अवस्थामा बाहेक सहज निर्वाचन हुँदैन। असहज निर्वाचन त हुनसक्ला।’

निर्वाचन आयोगले प्रचलित कानुन र विगतका अनुभवलाई हेरेर नेकपा विवाद छिटो टुंगो लगाउन सक्दा नै निर्वाचनको वातावरण बन्दै जाने पूर्वप्रमुख आयुक्त उनी बताउँछन्। आयोगले राजनीतिक दलसम्बन्धी ऐन, सम्बन्धित दलको विधान हेरेर आधिकाकिरता विवाद निरुपण गर्नुपर्ने उनको सुझाव छ।५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभाको वैधानिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ। संसद नभएको ६ महिनाभित्रै चुनाव सम्पन्न गरिसक्नुपर्ने संवैधानिक प्रावधान भए पनि नेकपाको विवाद जारी रहेकाले निर्वाचनको वातावरण बनिनसकेको पोखरेलको विश्लेषण छ।

उनी संसद पनि नहुने र चुनाव पनि गर्न नसक्ने अवस्था आउँदा मुलुक अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गर्ने र त्यस्तोबेलामा देशी विदेशी शक्तिको चलखेल बढ्न सक्ने बताउँछन्। अहिलेको राजनीतिक निकासका लागि संसद पुनर्स्थापना सबैभन्दा कम क्षतिपूर्ण विकल्प भएको पोखरेलको ठहर छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्