संसद पुनर्स्थापना जनताको विजय रे ! नवराजहरु मारिनु प्रतिगमन थिएन र ?



विजय ! विजय ! त्यसमा पनि जनताको ? यसरी धेरै कुर्लिन आवश्यक छैन । अहंको तुष्टिकरण गर्नु बेग्लै कुरा हो । एकपटक बिगततिर फर्किएर पनि हेरौं-कतिपटक हामीले ‘यो जीत कस्को ? जनताको’ भन्दै सडक ततायौं । कसले कतिपटक जित्यो ? कसले कतिपटक हार्यो ? इतिहास जग जाहेर छ, यो समीक्षाको विषय पनि होला ।

मुख्य प्रश्न व्यवस्था, चिन्तन, संस्कृति र प्रवृत्तिको हो । एउटा नाटक (प्रतिगमनको राजनितिक अभिव्यक्ति)को पटाक्षेप भएको छ तर जनता, देश, परिवर्तन र समृद्धिको नाउँमा अझैं जनविरोधी नाटकहरु र प्रतिगमनहरु मंचन हुने नै छन् । त्यसको लागि जागै बसौं । भुइँ तहका नागरिक र उत्पीडित वर्गका लागि यथास्थिति भित्रका सत्ता र सरकार गौण कुरा हुन् ।

आफू कुर्सीमा हुँदा लोकतन्त्र देख्ने, जनता र देशले जितेको देख्ने त्यसबाट बाहिर पुगे देश, जनता र लोकतन्त्रले हारेको देख्ने शासकीय मनोविज्ञान कुनै नयाँ होइन । अवसर नपाउँदा त सबै ‘महान क्रान्तिकारी’ हुन संभव छ, तर अवसर र सत्तामा पुग्दा पनि को कति देश, जनता, सामाजिक न्याय र परिवर्तन र मुल्यका पक्षमा अडिग रहन्छ, मुख्य कुरा त्यही नै हो । पात्र त फेरिएलान् प्रवृत्ति फेरिन्छ कि फेरिन्न ? हामीले हेर्ने त्यही हो ।

आउनुस यो व्यवस्थाबारे बहस गरौं । यसले संरक्षण गरिरहेको पितृसत्ता र दिनहुँ गरिरहेको लैङ्गिक हिंसा र बलात्कार प्रतिगमन हो कि होइन ? रुकुमका नवराज विकहरुको प्रेम र बाँच्न पाउने दुबै अधिकारबाट बन्चित गर्ने व्यवस्था प्रतिगामी हो कि होइन ? यो समाजका मुट्ठीभर धनकुबेरहरुको स्वार्थको लागि प्राकृतिक सम्पदासँगै देश अनि सिङ्गै धर्ती उनीहरुको पोल्टामा सुम्पिनुपर्ने बाध्यता प्रतिगमन हो कि होइन ? के यी प्रतिगमन हामीलाई स्वीकार्य छन् ?

यदि तपाईंको राजनीतिको सुरुवात र अन्त्य एउटा चुनावी भोट, टिकट र कुर्सीबाटै हुन्छ भने भन्नू केही छैन । यदि त्यसो होइन भने तपाईं हामीले गर्ने राजनीतिलाई समस्याका हाँगा र पातहरुमा सिमित नगरेर जडमै पुगौं र समाधान पनि जडबाटै खोजौं ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्