कतारमा रहेका नेपाली सेयर बजारमा लगानी गर्न उत्साहित



काठमाडौं । कतारमा रहेका नेपाली कामदारहरुले सेयर बजारमा लगानी गर्न उत्साहित देखिएका छन् । विदेशबाट बैंक खाता, डिम्याट खाता र मेरो सेयर खोल्न मिल्ने भएपछि कतारमा रहेका श्रमिकहरु सेयर बजारमा लगानी गर्न उत्साहित भएका हुन् ।

खासगरी ठूलो पुँजीको सेयर निष्कासन गरेको नेपाल इन्फ्राइस्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) मा आवेदन दिएका सबैलाई आईपीओ परेपछि कतारमा श्रम गर्दै आएका नेपालीहरुमा पनि सेयर लगानीमा आकर्षण बढेको छ । यहाँबाट बैंक खातासहित सेयर आवेदन फारम भर्नका लागि मिल्ने भएपछि नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ लगायत बैंकका प्रतिनिधिहरु मार्फत कतारका श्रमिकहरुले खाता खोलेका छन् ।

वैदेशिक रोजगारीका क्रममा श्रम गर्नका लागि अनिवार्य बैंक खाता खोल्न पर्ने भएपछि मात्रै बैंक खाता खोलेर प्रयोग गरेका श्रमिकहरुले अहिले सेयरमा लगानी गर्न डिम्याट खाता खोल्न थालेका छन् । हालै सिद्धार्थ बैंक मार्फत डिम्याट खाता खोलेर ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडको आईपीओमा लगानी गरेका गोर्खाका विनोद श्रेष्ठ र नुवाकोटका निरजकुमार थापा १०-१० कित्ताको साझेदार बनेका छन् ।

गोेर्खाकै सन्तोष श्रेष्ठ भने पहिलो गाँसमै ढुंगा लागेको बताउँछन् । उनले पनि ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ भरेका थिए । पहिलो पटक नै हात शून्य भएपछि उनी अलि निराश देखिए । यद्यपि महिला लघुवित्तको आईपीओ पनि भरेको सुनाउँदै श्रेष्ठले यसमा आशावादी रहेको सुनाए । सात वर्षदेखि कतारमा रहेका नुवाकोट खड्गभन्ज्याङका सुमन खड्का भने सेयर बजारका पुराना लगानीकर्ता हुन् ।

उनले आफूसहित परिवारका सबै सदस्यहरुको डिम्याट खाता खोलेर सेयरमा लगानी गरेका छन् । विदेशमा भएकाले सुरुवाती समयमा सेयरमा लगानी गर्न नपाएको तर अहिले विदेशबाटै सेयरमा लगानी गर्न मिल्ने भएपछि कुनै पनि कम्पनीको आईपीओ नछुटाइ लगानी गरेको उनले सुनाए । परिवारका सदस्यसहितको हाल करिव २ लाख ५० हजारभन्दा बढीको सेयर पुँजी रहेको खड्काले सुनाए । आईपीओमा लगानी गर्दा नोक्सानी व्यहोर्न नपर्ने उनको अनुभव छ । उनले दोश्रो बजारमा प्रवेश गर्नका लागि भने लहलहैमा नलागेर बुझेर मात्रै लाग्नुपर्ने सुझाव दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्