राष्ट्रियसभा निर्वाचनको तयारी शुरु



सैघाली खबर
काठमाण्डौ, २ माघ । निर्वाचन परिणाम सार्वजनिक भएको डेढ महिना पुग्न लाग्दा समेत नयाँ सरकार गठन प्रक्रिया सुरु हुन नसकेको अवस्थामा निर्वाचन आयोगले राष्ट्रिय दलका नेताहरु बोलाएर मंगलबार छलफल गरेको छ।

 

आयोग कार्यालय कान्तिपथमा जारी बैठकमा राष्ट्रिय सभा निर्वाचन प्रक्रियाबारे छलफल भइरहेको सहभागी नेताहरुले जानकारी दिएका छन्।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेका पाँच दललाई बैठकमा बोलाइएको हो। नेताहरुलाई एकल संक्रमणीय प्रणालीबाट मतदान हुँदा के कस्तो प्रक्रिया रहन्छ भनेर प्रस्तुति दिइएको छ। ‘एकल संक्रमणीय मत प्रणालीबाट

राष्ट्रिय सभाको निर्वाचन तयारी के कसरी गर्ने भनेर छलफल भइरहेको छ’, बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले नेपालखबरलाई बताए।

एमाले नेता सुवास नेम्वाङले राष्ट्रिय सभा निर्वाचन प्रक्रिया र तयारीबारे छलफल भइरहेको जानकारी दिए। सरकारले यसअघि अध्यादेश जारी गर्दै एकल संक्रमणीय मतका आधारमा राष्ट्रिय सभाको निर्वाचन गर्ने व्यवस्था गरेको थियो।

बैठकमा एमाले नेता बामदेव गौतम, सुवास नेम्वाङ, माओवादी नेता जनार्दन शर्मा, कांग्रेसका रमेश लेखक, राजपाका अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरलगायत सहभागी छन्।

प्रतिनिधि सभा र प्रदेश सभाको पूर्णता दिएर ताजा जनमतअनुसार नयाँ सरकार गठनको कार्य अवरुद्ध भइरहेका बेला आयोगले बैठक राखेको हो। सरकारले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने निर्णय गर्न नसक्दा प्रदेश सभा समानुपातिकमा निर्वाचित हुने २ सय २० जनाको परिणाम आयोगले रोकिराख्नु परेको छ।

प्रदेश प्रमुख नियुक्तिको ढिलाईले राष्ट्रिय सभाको घोषित निर्वाचन प्रभावित हुन सक्ने देखिएपछि आयोगले अग्रसरता देखाएको हो। आयोगले माघ २४ गते राष्ट्रिय सभा निर्वाचन सम्पन्न गर्न माघ ७ देखि सुरु हुने गरी निर्वाचन कार्यक्रम ल्याइसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्