Banner Second

महिला लघुवित्तको आइपीओमा १५ लाखको हात खाली, १० कित्ता ३७ हजार ५०० जनाले पाए

By Thah Online

February 26, 2021

काठमाडौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ शुक्रवार बिहान बाँडफाँट भएको छ। विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालय हात्तिसार, काठमाडौंमा गोलाप्रथाद्वारा भएको बाँडफाँटमा ३७ हजार ५०० जनाले १० कित्ताका दरले शेयर हात पारेका छन्।

मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण गरिएको हो। महिला लघुवित्तले माघ ३० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने फागुन ५ गते अन्तिम दिन थियो।

लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो। निष्काशन गरिएको कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन खुलाइएको थियो।

आईपीओ बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी १० करोड पुगेको छ। आर्थिक वर्ष २०७६/७७ सम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५७ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ ३१३ दशमलव १६ रहेको छ। प्रतिशेयर नेटवर्थको तीन गुणासम्म धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारका मूल्य तोक्ने व्यवस्था बमोजिम कम्पनीको पहिलो कारोबारका लागि रू. ३१३ दशमलव १६ देखि ९३९ दशमलव ४८ सम्म मूल्य तोकिने देखिन्छ । आजदेखि आईपीओ बाँडफाँटको नतिजा सम्बन्धित निष्कासन कम्पनी, विक्री प्रबन्धक र मेरो शेयरमार्फत हेर्न सकिने छ ।