Banner First

जसपासँग छलफल, प्रचण्ड-नेपाल पक्षकाे संयुक्त सरकार

By Thah Online

February 26, 2021

फागुन १४ ,  काठमाण्डाैं । नेकपाको प्रचण्ड-नेपाल पक्षले संयुक्त सरकार गठको विषयमा जनता समाजवादी पार्टीसँग छलफल गरेको छ। नेकपाको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले जसपाका नेताहरुसँग छलफल गरेका हुन्।

छलफलमा जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ सहभागी थिए। छलफलमा आगामी दिनमा सहकार्य गरेर जानका निम्ति नेकपा प्रचण्ड-नेपाल पक्षले प्रस्ताव गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बताए। छलफलमा जसपा नेताहरुले प्रचण्ड-नेपाल पक्षको पार्टी कुन हो स्पष्ट पार्नका लागि आग्रह गरेको पनि उनले बताए।

आफूहरुले नेकपाको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने बताएको पनि वरिष्ठ नेता महतोले बताए। उनले भने, ‘कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो। सहकार्य गर्न सकिन्छ कि भनेर कुराहरु राख्नुभयो। हामीले जिज्ञासा राख्यौं, भने तपाईंहरुको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी चाहियो। त्यो के हो ? अलमलमा परियो त्यो प्रस्ट हुनुस् र तपाईंहरुले राखेका सबै कुराहरु हाम्रो पार्टीको बैठकमा हामी राख्छौं।’

जसपा नेताहरुले पटक-पटक आफूहरुले गरेको सहमतिमा धोका खाएको पनि स्मरण गराएका थिए। जसपा नेताहरुले आफ्नो पार्टीका सांसद रेशम चौधरी लगायतका नेताहरु अझै पनि बन्दी जीवन बिताउनुपरेको भन्दै बन्दी रिहाइका लागि संघर्ष गरिरहने बताए। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन सच्चिएपनि संविधान लेख्दादेखिको प्रतिगमन नसच्चिएको महतोले बताए।

‘देशमा केपी ओलीको एउटा प्रतिगमन सच्चियो। संविधान लेख्दा कांग्रेस-कम्युनिस्टले जुन प्रतिगमत गर्नुभएको थियो त्यो अझै सच्चिएको छैन। त्यो प्रतिगमनका विरुद्ध लड्ने रेशम चौधरी जेलमा छन्। यस्तो अवस्थामा कसरी सहकार्य हुन्छ ?,’ महतोले भने।