टप फिचर

‘प्रचण्ड’ र नेपालले प्रधानमन्त्री पद नपाउने : नेता प्रभु साह

By Thaha - Online

February 26, 2021

पर्सा। ओली समूहका नेता प्रभु साहले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवनेपालले प्रधानमन्त्री पद नपाउने टिप्पणी गरेका छन्। पर्सामा शुक्रवार आयोजित कार्यक्रममा सहले जति षड्यन्त्र र छल गरे पनि प्रचण्ड-माधवको प्रधानमन्त्री बन्ने सपना साकार नहुने धारणा बताए।

‘संसद् पुनर्स्थापनापछि प्रचण्ड र माधव नेपाल सांसद किनबेच गरेर गणितीय फोहोरी खेलमार्फत प्रधानमन्त्री बन्ने सपना देखिरहेको भए पनि पूरा हुँदैन,’ उनले भने, ‘सत्ता हत्याउन प्रचण्ड र माधव नेपालले रोपेको अस्थिरताको काँडाले उनीहरूलाई घोच्छ।’

साहले नयाँ सरकार निर्माणका लागि गणितीय फोहोरी खेलको सुरु भएको पनि बताए। उनले प्रदेश २ को सरकार भ्रष्टाचारमा लिप्त रहेको पनि आरोप लगाए। उनले भने, ‘नयाँ सरकार निर्माणका लागि गणितीय फोहोरी खेलको सुरुआत भएको छ। माधव-प्रचण्डहरूले अहिले सांसद किनबेच र अस्थिर सरकार बनाउने फोहोरी खेल खेल्ने अवसर पाएकोमा लागि उत्सव मनाइरहेका छन्।’

प्रचण्ड र माधव नेपालले पार्टी ध्वस्त बनाएको आरोप लगाउँदै साहले उनीहरू आफैँले खनेको खाल्डोमा फस्ने बताए। उनले भने, ‘जनताले झन्डै दुई तिहाइ बहुमतसहित नेकपालाई ठुलो पार्टी बनायो। तर सत्ताको लोभमा पार्टीलाई ध्वस्त बनाइदिएको। भनिन्छ, अरूका लागि खाल्डो खन्यो भने आफैँ फस्नुपर्छ। ठिक त्यस्तै हालत माधव र प्रचण्डहरूको भएको छ।’