चीन-भारत सम्बन्ध : पोहोर मारामार, अहिले मिलन



नयाँदिल्ली । अघिल्लो वर्ष सीमामा निकै तनावपूर्ण सम्बन्ध झेलेका भारत र चीनका विदेश मन्त्रीबीच टेलिफोनमा कुराकानी भएको छ । बिहीबार भारतीय विदेश मन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यीबीच फोन वार्ता भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार सीमा क्षेत्रमा सैन्य फौज घटाउने र तनाव कम गर्ने विषयमा भएको छलफल ७५ मिनेटसम्म चलेको थियो । दुई विदेश मन्त्रीबीच पूर्वी लद्धाखको लाइन अफ एक्च्युल कन्ट्रोलबारे र अरू सबै सीमा क्षेत्रबारे कुराकानी भएको थियो ।

जयशंकरले सीमाको मुद्दा सुल्झिन समय लाग्ने भए पनि सीमा क्षेत्रमा हिंसा हुँदा सम्बन्धलाई बिगार्ने बताएका थिए । दुई मन्त्री सीमा क्षेत्रबाट सैनिकहरू पछाडि हटेर अवस्था सामान्य भए पनि थप वार्ता गर्न पनि सहमत भएका छन् ।

उनीहरूबीच निरन्तर सम्पर्कमा रहने र त्यसका लागि हटलाइन पनि खोल्ने सहमति भएको छ । गत वर्षको जुनमा गल्वान भ्यालीमा दुई देशका सेनाबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त झडपमा मारिएका चार जना सैनिकबारे चीनले अघिल्लो सातामात्रै जानकारी दिएको थियो ।

१ अर्ब बढी जनसंख्या भएका विश्वका यी दुई आणविक शक्ति राष्ट्रको सीमा निर्धारण हुन बाँकी छ । दुबै पक्षले पूर्वी र पश्चिम सेक्टरमा बेला–बेलामा एक अर्काले सीमा अतिक्रमण गरेको आरोप लगाउने गरेका छन् । सीमामा तैनाथ हुने दुबै देशका सैनिकसँग हतियार नहुने भएकाले उनीहरू धकेलाधकेल हुन्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्