खोटाङ । खोटाङमा एक ज्येष्ठ नागरिक लामो समयदेखि सामाजिक बहिष्करणमा परेको घटना बाहिरीएको छ । राष्ट्रिय मावव अधिकार शाखा कार्यालय खोटाङका अनुसार दलित समुदायका व्यक्तिले दिएको दही खाएको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलका टंकप्रसाद आचार्य आफन्त र छिमेकीबाट बहिष्करणमा पर्नुभएको हो । बहिष्करणमा परेको सुचना बाहिर आएपछि सो क्षेत्रमा मानव अधिकार आयोगका सचिव वेद भट्टराईसहित अधिकृतहरु संलग्न उच्चस्तरीय टोलीले पिँडित आचार्यको घरमै पुगेर अनुगमन गरेको थियो। अनुगमन सकिए लगत्तै राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर १ को शाखा कार्यालय खोटाङले आज (शनिबार) सो विषयमा प्रेस विज्ञप्ति जारी गरेको छ ।
“जातीय भेदभाव जस्तो अमानवीय र अपराधिक कार्य विरुद्धको अभियानमा संलग्न जेष्ठ नागरिक तथा अभियन्तालाई समाजले गौरवको रुपमा लिनुपर्नेमा सामाजिक वहिष्करण गर्नु अत्यन्त निन्दनीय कार्य हो ।” विज्ञप्तिमा उल्लेख छ। जातीय छुवाछुत तथा भेदभाव –कसुर र सजाय) ऐन २०६८ ले पनि यस्तो कार्यलाई दण्डनीय मानेको तथ्यलाई आयोगले स्मरण गराउदै—“घटनाको सम्बन्धमा सुक्ष्म अनुसन्धान गरी दोषीहरुलाई कानूनी दायरामा ल्याउन, पीडितलाई मानसिक पीँडाबाट मुक्त गर्न तथा आवश्यक सुरक्षाको प्रत्याभूति गराउन आयोगले जिल्ला प्रशासन कार्यालय खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पत्राचार समेत गरेको बताइएको छ । उहाँका २ छोरा, ३ छोरी रहेका छन् । गाउँका सामाजिक कार्यकर्ता रहेका आचार्य दलितले छोएको निहुँमा बहिष्कारमा परेपछि न्याय माग्दै एक नम्बर प्रदेश सरकारको शरणमा आफू पुगेको बताउँनुभएको छ ।
news 2020 बाट