बास्तोला हत्याकाण्डः घरबेटी गिरी पक्राउ



विराटनगर । मोरङको उर्लाबारीका प्रविन बास्तोला हत्या प्रकरणमा थप एक जनालाई पक्राउ गरिएको छ । मोरङ प्रहरीको टोलीले घरधनी रमेश गिरीलाई पक्राउ गरेको हो । हत्या भएको रात उर्लाबारी नगरपालिका–७ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा प्रविन सुतेका थिए ।

उर्लाबारी–५ घर भएका प्रविनको हत्या आरोपी गिरीलाई आइतबार पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । पुस ४ मा मदिराको नशामा साथीहरूसँगै सुतेका प्रविन विहान अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो ।

स्थानीय गोदावरी अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृत्यु भएको दिन प्रविन आफ्ना साथी सुदिप परियार, मेहरमान दर्जी र दीलिप पौडेलको डेरामा सुतेका थिए । त्यहाँ ३१ वर्षीय राजेश रणपहेली पनि सँगै थिए । प्रविन बास्तोलाको हत्या आरोपमा उपस्थित गराइएका दुई जनामध्ये एक जनालाई अदालतले थुनामा पठाएको छ ।

बिहीबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो । जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले अर्का आरोपी कुमार राईलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

कुमार स्थानीय सौरभी होटलका सञ्चालक हुन् । हत्यामा संलग्नमध्ये ३ जना फरार छन् । मृतकका आफन्तले प्रहरी अनुसन्धानमा प्रश्न उठाएपछि डिएसपी मानबहादुर राईको नेतृत्वमा छानविन समिति गठन गरिएको छ । समितिले सोमबार प्रतिवेदन बुझाउने बताइएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्