पूर्णरुपमा पतन नहुँदासम्म ओली जीले बेइमानी गर्नुहुन्छः दाहाल



काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीमा सम्पूर्ण रुपमा पतन नहुञ्जेल बेइमानी र प्रतिक्रियावादी पात्र देखिएको बताएका छन् ।
नेपाल कर्मचारी राष्ट्रिय महासंघको साधारणसभामा बोल्दै सोमबार दाहालले ओलीसँग कुनै पनि नैतिकता र इमान नरहेको बताए ।

सर्वोच्च अदालतले ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भनिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनुको सट्टा आफैंले जितेजस्तो दम्भ देखाइरहेको दाहालले बताए । ‘संसारको परम्परा र नजिर हाम्रै अगाडि छ, यस्तो अलोकतान्त्रिक कदम खारेज भएपछि त राजीनामा दिनुपर्ने हो,’ दाहालले भने, ‘केपीजीको कुरा सुन्छु म, म झन् बलियो भएँ, जितेँ भनेजस्तो, हारेपछि बलियो हुने क्या, त्यस्तो नि हुन्छ ?’ दाहालले अब के गर्न बाँकी छ ओलीजी भन्दै प्रश्न पनि गरे ।

‘संकटकाल लगाएर देखाउने भन्नुभएको हो कि, उहाँ त सर्वोच्चले यति गरेपछि एक मिनेट पनि पदमा बस्न नहुने हो,’ दाहालले भने, ‘विश्व कम्युनिष्ट आन्दोलनको एउटा भनाइ छ, जनताको नियम र संघर्ष छन्, जतिबेलासम्म जित हुँदैन, संघर्ष हुन्छ, प्रतिक्रियावादीहरू सफल हुँदैनन्, जबसम्म पतन हुँदैनन्, बर्बर गर्न छोड्दैनन्, केपीमा पनि त्यही पतन नहुञ्जेल बेइमानी गर्न नछोड्ने प्रतिक्रियावादी पात्र छ ।’

दाहालले पार्टी एकताको प्रसंग निकाल्दै ओलीमा इमानदारी, वैचारिक निष्ठा, जिम्मेवारीबोध केही पनि नरहेकाले उनीको बेइमानी र जालझेलपूर्ण कामको विरूद्धमा संघर्ष भएको बताए । त्यो संघर्ष विधि, पद्धति र विचारको लडाइँ भएको दाहालले बताए ।
‘सचिवालयको बहुमतलाई निर्णय, स्थायी समिति, केन्द्रीय समितिको बहुमतको निर्णयलाई नमान्ने । संसदको दुई तिहाइलाई पनि नमान्ने, निकै ठूलो प्रतिक्रान्तिकारी कदम चाल्नुभयो,’ दाहालले भने, ‘संविधान खारेज गर्नेसम्मको प्रतिगमनकारी कदम चाल्नु भयो ।’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्