नेकपाको आधिकारीकता २ दिनभित्रै टुङ्गिने



काठमाडौं । निर्वाचन आयोगका आयुक्तहरु विभाजित नेकपाको आधिकारिकता विवाद टुंग्याउने बारे छलफलमा जुटेका छन् । आयोग स्रोतका अनुसार आइतबार र सोमबार आयुक्तहरुका बीचमा नेकपा विवादबारे छलफल चलिरहेको छ । प्रचण्ड–नेपाल समूहको आधिकारिकता दाबी गरेको एक महिना पुग्न लाग्दा आयोगले निर्णय गर्ने तयारी गरेको हो ।

प्रचण्ड–नेपाल समूहले गत माघ २० गते राजनीतिक दलको दफा ४४ अनुसार आधिकारिकता दाबी गरेको थियो । आयोग उक्त समूहले दिएको पत्र अध्ययनमै रहेको जवाफ दिँदै आयोग पन्छिँदै आएको छ । नेकपा विवाद हेर्ने जिम्मेवारी पाएका आयुक्त रामप्रसाद भण्डारीले विवादबारे दुई दिनभित्रै एउटा निर्णयमा गर्ने जानकारी दिए ।

‘निर्वाचन आयुक्तहरुबीच छलफल चलिरहेको छ । आआफ्नो धारणा राख्ने काम भइरहेको छ । यस्तै खालको निष्कर्षमा त पुगिसकेका छैनौं । तर, एक–दुई दिनभित्रै एउटा निर्णय गर्छौं,’ भण्डारीले भने ।

निर्वाचन अनिर्णयको बन्दी बन्दा नयाँ सरकार बन्ने प्रक्रियमा जटिलता थपिएको भन्दै प्रचण्ड–नेपाल समूहका नेताहरुले असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन् । आयोगलाई छिटै एउटा निर्णय दिन दबाब पनि बढ्दो छ ।

प्रचण्ड–नेपाल समूहको सोमबार बसेको सचिवालय बैठकले आयोगले किन ढिलाइ गरेको भन्दै पत्र लेख्ने निर्णय पनि गरेको छ । नेकपाको ओली र प्रचण्ड–नेपाल दूवै समूह आफूहरुले नै आधिकारिकता पाउने दाबी गर्दै आइरहेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्