एक्स्काभेटरले महिला पुरेर मार्यो, चालक फरार



धादिङ । नेपाली समाज आपराधिक हुन अब कति बाँकी छ ? अब त अति नै भएन र ? एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी-१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो ।

ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् । एक्स्काभेटर चालक भीमबहादुर बुढाथोकीले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएका थिए । काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले ‘एक्स्काभेटरले मान्छे पुर्यो’ भन्दै हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए । त्यतिबेला सडक मजदुर भने खाना खाँदै थिए । पछि तिनै मजदुरले खाल्डो खनेर कुमालको शव झिकेका थिए ।

‘शव घोप्टो परेको अवस्थामा भेटिएको थियो । टाउकोमा ठूलो घाउ र रगत पनि देखिएको छ,’ सल्यानटारस्थित इलाका प्रहरी कार्यालयका सब-इन्स्पेक्टर भानुभक्त आचार्यले भने । शव परीक्षणका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनापछि उत्तेजित भीडले हरितारा कन्स्ट्रक्सनले प्रयोगमा ल्याएको उक्त एक्स्काभेटरमा ढुंगामुढा र आगजनी गरेको थियो ।

आगजनीबाट एक्स्काभेटर क्षतिग्रस्त बनेको छ । चालकलाई तत्काल पक्राउ गरी कानुनसम्मत कारबाही हुनुपर्ने स्थानीयको माग छ । तर घटनालगत्तै फरार दाङ घर भएका चालक बुढाथोकी भने अझै पक्राउ पर्न सकेका छैनन् । फरार चालकको खोजतलास भइरहेको धादिङ प्रहरी प्रमुख महेन्द्र खड्काले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्