ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी



काठमाडौँ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजारमा मंगलबार बिहानदेखि भीषण आगलागी भइरहेको छ । बिहान ९ बजेतिर एक घरबाट सल्किएको आगो बस्तीभरि फैलिएको हो । अहिलेसम्म आधाजति बजार जलिसकेको स्थानीयले बताएका छन् ।  कपडा पसलमा बिजुली सर्ट भएर आगो लागेको बताइएकाे छ ।

आगलागी नियन्त्रणका लागि सदरमुकाम फुङलिङ बजारबाट दमकल दोभान बजार पुगेको छ । आगलागी फैलन नदिन डोजरले कच्ची घरहरू भत्काइँदै छन् ।

घटनास्थलमै रहेका गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले अहिलेसम्म बजारको मुख्य क्षेत्र जलिसकेको बताए । ‘फुङलिङमा रहेको एक मात्र दमकल आएर आगो थप फैलन त रोकेको छ,’ उनले भने, ‘तर आगलागी भइरहेको स्थानमा भने नियन्त्रणमा लिन सकिएको छैन । नजिक गएर हेर्ने अवस्था नभएकाले कति घर जले यसै भन्न सकिन्न ।’ उनका अनुसार तुरुन्त आगो फैलिएकाले स्थानीयले घरभित्रका सामान निकाल्न भ्याएनन् । ‘केहीले महत्त्वपूर्ण कागजातहरूसम्म निकाल्न भ्याए,’ लिम्बूले भने, ‘जिल्लामा अहिले सीडीओ नभएकाले पनि के गर्ने, कसो गर्ने भन्ने अन्योल छ ।’

ताप्लेजुङका प्रजिअ झरेन्द्रप्रसाद चापागाईं केही दिनअघि नै सरुवा भई झापा गइसकेका छन् । झापाका प्रजिअ उमेश पाण्डेलाई ताप्लेजुङ सरुवा गरिएको छ । बिहानको समयमा मानिसहरू ब्युँझिसकेको र आगो लाग्नेबित्तिकै बाहिर निस्कन पाएकाले मानवीय क्षति हुनबाट जोगिएको पनि गाउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिए । दोभान जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्