अख्तियारमा मामा सचिव भएको १५ महिनामै ५०औं रोपनी जग्गा जोड्ने शक्तिशाली भान्जा



काठमाडौं, २० फागुन । पछिल्लो समय गृह मन्त्रालयको प्रशासानिक नेतृत्व अत्यन्तै कमजोर बनेको टिप्पणी प्रहरी तथा कर्मचारी वृत्तमा व्याप्त छ । मन्त्री रामबहादुर थापा ‘बादल’ को स्वभाव टन्न खाएर उघ्राउँदै बसेको भैंसीको जस्तो, सचिव महेश्वर न्यैपानेको ध्यान उठ्तीपुठ्तीमा मात्र भएपछि गृह प्रशासन लथालिंग बनेको हो ।

गृहलाई पनि अप्रत्यक्ष रूपमा प्रधानमन्त्री कार्यालयले नै चलाउने गरेको छ । बालुवाटारको राजनीतिक नेतृत्वका अगाडि गृहको प्रशासानिक नेतृत्व लम्पसार परेको छ । जसका कारण दुईदुई महिनामा सीडीओ हेरफेर भएका छन् । जसको प्रत्यक्ष असर जिल्लाको शान्ति सुरक्षामा परेको छ । सचिव न्यौपानेको कारण गृह प्रशासन पछिल्ले समय झन्झन् बदनाम बन्दै गएको छ । पैसा आउँछ भनेपछि जे गर्न पनि पछि नपर्ने सचिव न्यौपानेका कारण प्रजातन्त्र दिवसको अवसर पारेर गरिएका कैदीकोहरूको आममाफी विवादास्पद बन्यो । कतिसम्म भने चितवन तरुण दलका अध्यक्ष शिव पौडेलको हत्यारालाई समेत आममाफी दिइयो । अरू धेरै हत्यारा, बलात्कारीले पनि माफी मिनाहा पाए । आममाफी दिँदा पनि राम्रै रकमको चलखेल भएको बताइन्छ ।

पैसा चलखेलको काम भने जता गए पनि भान्जा सुजन पौडेलले गर्ने गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धानको सचिव हुँदा उनै पौडेलका कारण विवादमा तानिएका न्यौपाने अहिले विगत एक वर्षभन्दा वढी समयदेखि गृह मन्त्रालयको सचिव छन् । अहिले पनि मामाको नाम भजाउँदै रकम संकलनको सबै काम भान्जा सुजनले गर्ने गरेको स्रोतले बतायो । विश्वस्त सूत्रका अनुसार नेपाल प्रहरीको इन्स्पेक्टरबाट डीएसपी तथा डीएसपीबाट एसपीमा भएका बढुवामा पनि भान्जा सुजनले पैसा उठाएका थिए । सईबाट इन्स्पेक्टर बढुवामा पनि सुजनसँग पैसाको मोलमोलाई टुंगो लागिनसकेकाले ढिलाइ भइरहेको बताइन्छ ।

सचिव न्यौपानेका २७ वर्षीय भान्जाले मामाकोे आडमा धेरैलाई तर्साएर २५औं करोड रुपैयाँ आर्जन गर्नु र यसमा मामा मौन रहनुका कारण उनको नियतमाथि शंका गर्न थालिएको छ । हिजो मामा अख्तियारमा हुँदा अख्तियार देखाएर तर्साउँथे, अहिले गृह देखाएर तर्साउँदै पैसा असुलीलाई निरन्तरता दिइरहेको बताइन्छ । मामा अख्तियारमा सचिव भएको १५ महिनामै उनले ५०औं रोपनी जग्गा जोडेका थिए । काठमाडौं जिल्ला गोकणेश्वर नगरपालिका-३ का नातिराज पौडेलका नाति पुष्कलराज पौडेलका छोरा सुजनसँग आज त्यति धेरै सम्पत्ति कहाँबाट आयो भनेर छानबिन गर्ने हो भने त्यो सबै सचिव न्यौपानेको आडमा आर्जन गरेको खुल्ने स्रोतको दाबी छ ।

मामाको आडमा भान्जा पौडेलले तर्साउँदै घुस असुल्ने र पक्राउ गरिएकाहरूसँग पनि भनेजति रकम दिए बयान कमजोर दिएर विशेष अदालतबाट मुद्दा जिताइदिने भनी मोलमोलाइ गर्दै आएका स्रोतले बतायो । मामा न्यौपाने अख्तियारमा सचिव हुँदा भान्जा सुजनले के-के गरे ? यसबारे यसअघि नै बुधबार साप्ताहिकले तथ्यसहित सामग्री प्रकाशन गरिसकेको छ । केही तथ्य यस्ता छन् ।

घटना नम्बर १ : २०७५ वैशाख १९ मा नापी कार्यालय साँखु काठमाडौंका प्रमुख नापी अधिकृत भागवत साहलाई अख्तियार अनुसन्धान दुरुपयोग आयोगले पक्राउ गर्‍यो । गोकणेश्वर नगरपालिका-२ स्थित नयाँपाटीमा रहेको ३६ रोपनी जग्गा कित्ताकाट गरिदिएबापत सेवाग्राहीसँग कार्यालय सहयोगी खेमराज भण्डारीमार्फत २ लाख ५० हजार लिएको भन्दै साहलाई कार्यालय परिसरबाट पक्राउ गरिएको थियो ।

त्यो ३६ रोपनी जग्गा कित्ताकाट गरी २ लाख ५० हजार घुस दिने सेवाग्राही थिए, काठमाडांै जिल्ला गोकणर्ेश्वर नगरपालिका ३ बस्ने सुजन पौडेल । त्यो ३६ रोपनी जग्गा पनि उनकै थियो । अख्यिारकै विज्ञप्तिका अनुसार साह आफैंले घुस लिएका थिएनन् । कार्यालय सहयोगी भण्डारीमार्फत लिन खोजेका थिए । रंगेहात घुस लिँदा लिने व्यक्तिलाई पक्राउ गरिन्छ । करिब दिउँसोको २ बजेको थियो साह कार्यालयमै थिए । कार्यालयको ढोकामा रहेका भण्डारीलाई पौडेलले पैसा हातमा लगाइदिएपछि साहलाई तत्काल पक्राउ गरिएको थियो ।

घटना नम्बर २ : २०७५ असोज २१ मा महानगरीय प्रहरी वृत्त, बौद्ध काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामकुमार राईलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गर्‍यो । सेवाग्राहीबाट सोनी कम्पनीको टिभी खरिदबापत १ लाख ४० हजार घुस लिएको अरोपमा राईलाई पक्राउ गरियो । अहिले राईले सफाइ पाइसकेका छन् ।

सोनी कम्पनी खरिदका लागि १ लाख ४० हजार घुस दिने सेवाग्राही पनि उनै २५ वर्षीय सुजन पौडेल थिए । अख्तियारको विज्ञप्तिमा डीएसपी राईले सेवाग्राहीसँग सोनी कम्पनीको टिभी खरिद गरी ल्याइदिनू भनी जिन्सी सामानका रूपमा घुुस/रिसवत माग गरेको र टिभी आफैंले खरिद गरी ल्याउने र सो खरिद गरेबापतको बिल भुक्तानी दिन सेवाग्राहीलाई पटकपटक फोन गरी घुस मागेको दाबी गरिएको थियो ।

सुजनको परिवार यसअघि सामान्य परिवारको भएको उनका छिमेकीहरूलाई थाहा छ । सुजन पौडेलका बुबा, अख्तियार सचिव न्यौपानेका भिनाजु पुस्कलराज पौडेल जजमानी पेसा गर्ने पुरोहित हुन् । यसबाहेक उनको परिवारमा कोही पनि रोजगारीमा छैनन् । तर गएको तीन वर्षमा छोरा सुजन पौडेलले भने अकूत सम्पत्ति आर्जन गरेका छन् । काठमाडौंको साँखु क्षेत्रमा मात्रै उनको करोडौं मूल्यबराबरको जग्गा रहेको छ । मामा अख्तियारमा सचिव भएको अवधिमा मात्रै उनले करोडौंको जग्गा जमिन खरिद गरेको मालपोत कार्यालयको अभिलेखबाट खुलेको छ ।

पछिल्लो रेकर्डअनुसार मात्रै साबिक बालुवा गाविस कित्ता नम्बर ३२४ को नक्सा सिट नं. ६, ६ ग, खण्डे नं. को कि.नं. ३७९ नम्बरको जग्गा २०७५ वैशाख २७ मा पास गरेका छन् । साबिक बालुवा गाविसकै ३२४ को कित्ता गत वैशाख २७ मै खरिद गरेका छन् । जुन हाल कि.नं. ३७८ हो । बालुवाकै ३८० नम्बर कित्ता जग्गा पनि उनले २०७५ वैशाख २७ मै पास गरेका छन् ।

त्यसैगरी २०७५ जेठ १ मा साबिक नाङ्लेभारेको कि.नं. ११०, नक्सा सिट नं. ३, ३ ख को जग्गा खरिद गरेको देखिन्छ । नाङ्लेभारेकै साबिक कि.नं. ११३ पनि सोही दिन खरिद गरेका छन् । सुजन पौडेलले नाङ्लेभारेको कि.नं. ११६ पनि किनेका छन् । यीबाहेक अन्यत्र पनि उनको नाममा धेरै जग्गा जमिन रहेको स्रोतको दाबी छ । भक्तपुर साबिक चित्तपोल गाविसमा १ रोपनी १५ आना जग्गा उनको नाममा देखिन्छ । पछिल्लो समयमा उनी गृह सचिवको भान्जाको तुजुक देखाउँदै उनी प्रहरीका हाकिमहरूसँग बाक्लो हिमचिम र उठबस सक्रिय छन् । बुधवार साप्ताहिकले समाचार लेखेकाे छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्