संसद सचिवालयद्वारा ओली समूहलाई मान्यता, जिल परे प्रचण्ड–माधव



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएपछि कार्यकक्षबाट नाम लेखिएको बोर्ड हटेको छ ।

ओलीले दुई दिन अगाडि गुरुङलाई प्रमुख सचेतकबाट हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतक पदमा नियुक्त गरेका थिए । ओलीले त्यसको जानकारी संसद सचिवालयलाई गराएका थिए ।

नेकपाको संसदीय दलका नेता समेत रहेका ओलीलाई संसद सचिवालयले मान्यता दिएको छ । ओलीको सिफारिसलाई संसद सचिवालयले स्वीकार गरेको छ ।

संसद सचिवालयले गुरुङको कार्यकक्षबाट नाम लेखिएको बोर्ड हटाएर भट्टराईको नाम लेखिएको बोर्ड राखेको छ ।

आफ्नो नाम हटाएपछि गुरुङले आक्रोश पोखेका छन् । गुरुङले प्रमुख सचेतक आफूनै रहेको दाबी गरेका छन् । उनले नेकपाले निर्णय नगर्दासम्म आफूनै प्रमुख सचेतक रहेको बताएका छन् ।

नेकपा कानूनी रुपमा विभाजन भएको छैन । विभाजन नभएपछि संसद सचिवालयले ओलीलाई नै मान्यता दिएको हो । संसद सचिवालयको निर्णयले पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहलाई धक्का लागेको छ ।

प्रचण्ड–माधव समूह निकट मानिने सभामुख अग्निप्रसाद सापकोटाले पनि ओलीको कदमलाई साथ दिन बाध्य भएका छन् ।

सिंहदरबारमा पूर्वएमालेको संसदीय दलको कार्यालय रहेको कार्यकक्षमा गुरुङको नाम हटाएर भट्टराईको नाम राखेपछि नेकपाभित्र गुरुङलाई ओली समूह र संसद सचिवालयले गलहत्याएर कार्यकक्षबाट निकालेको चर्चा भएकोछ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्