प्रदेश नम्बर २ का राज्यमन्त्री यादवमाथि कुर्सी प्रहार



जनकपुर। प्रदेश नम्बर २ का राज्यमन्त्री योगेन्द्र राय यादवमाथि कुर्सी प्रहार भएको छ। जिल्ला सहकारी संघ धनुषाको साधारणसभा भाँड्न खोजेपछि आयोजकबाट नै राज्यमन्त्री यादवमाथि कुर्सी प्रहार गरिएको हो।

संघका अध्यक्ष रामबाबु यादव नेतृत्वको समूहले राज्यमन्त्री यादवले साधारणसभा भाँड्न खोजेको आरोपमा उनीमाथि कुर्सी प्रहार गरेको थियो। फर्जी सदस्यहरुको आडमा संस्थाका निवर्तमान अध्यक्ष हरिचन्द्र हरियौत नेतृत्वको समूहले भ्रष्टाचार लुकाउन साधारणसभा आयोजना गरेको भन्दै अध्यक्ष रामबाबु यादव नेतृत्वको समूहले कार्यक्रममा रडाको मच्चाएका थिए।

रामबाबु यादव समूहले गैरकानूनी रुपमा आयोजना भइरहेको साधारणसभा रोक्न आग्रह गरेपछि राज्यमन्त्री यादव समेत जाइ लागे। त्यसपछि उनीमाथि कुर्सी प्रहार भएको कार्यक्रममा सहभागी रहेका सेयरधनी तथा सदस्य संजय कुमार साहले बताए।

संघको हरहिसाब सार्वजनिक, घरभाडाबाट आइरहेको रकम, चल-अचल सम्पति सार्वजनिक गर्न माग गर्दै रामबाबु यादव समूहले विरोध जनाएका थिए। उनीहरूले जानकारीविनै गोप्य रूपमा साधारण सभा गर्न लागिएको भन्दै कुर्सी प्रहार गरेका हुन्।

असन्तुष्ट पक्षका संजय साहले संघको विवाद बारे मौखिक तथा लिखित रूपमा विवाद सम्बन्धमा मन्त्रालयलाई जानकारी गराइसकेको जानकारी दिए। उनकाअनुसार हिजो राति राज्यमन्त्री यादवले आपसमा छलफल गरेर मात्रै साधारण सभा हुने प्रतिबद्धता जनाएका थिए। तर बिहान उनकै आतिथ्यमा कार्यक्रम भइरहेको देखेपछि आक्रोशित सहकारी सदस्यहरूले कुर्सी प्रहार गरेको साहले बताए।

उनले संघलाई निष्पक्ष बनाई नयाँ नेतृत्व चयन गर्न पटक-पटक भन्दै आए पनि मन्त्रालयले हरियौतसँग नै सहकारीको सबै काम गराउंदै आएकोमा समेत सहकारी शेयर सदस्यहरू आक्रोशित रहेको बताए। घटना पश्चात राज्यमन्त्री यादवलाई कडा सुरक्षाबीच कार्यक्रमबाट बाहिर लगिएको थियो । यता राज्यमन्त्री यादवले भने सामान्य विवाद मात्रै भएको बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्