ज्योती लाईफको आईपीओमा हालसम्म १० लाख बढीकाे आवेदन



काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले जारी गरेको आईपीओमा हालसम्ममा पौने १० लाख बढीले आवेदन दिएका छन्। बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ९ लाख ८२ हजार ६७७ जनाले कम्पनीको २ करोड १२ लाख ४४ हजार ३६० कित्ताको लागि आवेदन दिइसकेका छन् ।

कम्पनीले फागुन २१ गतेदेखि ६६ करोड रुपैयाँ बराबरको अर्थात अंकित मूल्य एक सय रुपैयाँको ६६ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेको हो। जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ। र, बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

फागुन २१ गतेदेखि निष्काशन हुने उक्त आईपीओमा इच्छुकले छिटोमा फागुन २६ गतेसम्म आवेदन दिन पाउने छन्। उनीहरुले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ। इच्छुक आवेदकले सि(आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ। त्यस्तै, आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। जसले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउँछ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। ६६ करोड रुपैयाँ बराबरको आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ। कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्ममा १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दै १० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीले जीवन बीमा कोषमा २ अर्ब ९१ करोड रुपैयाँ संचित छ भने जगेडा कोषमा ४८ करोड २४ लाख रुपैयाँ रहेको छ। कम्पनीको कुल लगानी ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्