आठ मार्च अमर छ र अमर रहने छ



 


आज १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ! बिश्वभरीका महिलाहरु खाशगरी श्रमिक महिलाहरुले यो अन्तराष्ट्रिय श्रमिक महिला दिवस ८ मार्च बिभिन्न किसिमलेमनाउने गर्दछन् । महिला समुदायले भोगिराखेका श्रम लगायत सबैखाले शोषण उत्पीडनका बिरुद्ध आबाज घन्काएको र संगठित भएर संघर्षको मैदानमा उत्रिएको यो दिवस बिश्वभरीका श्रमजीवी महिलाहरुलाई आफ्नो हक हित र अधिकारका निमित्त जगाउने, उठाउने र अघि बढाउने बिजयशाली र ऐतिहासिक दिवस हो ! त्यसैले यो दिनको महत्व बिश्वब्यापीरुपमा र नेपालमा समेत आज पनि उत्तिकै छ । यस दिनले आज पनि बिश्वभरीका महिला समुदायलाई नब सामन्ती तथा नब औपनिवेशिक साम्राज्यवादी(पूँजीवादी) परम्परागत र नबीन प्रकृतिका शोषण उत्पीडनका सबै रुप र कृत्यहरुबाट मुक्त हुने सत्प्रेरणा प्रदान गर्दछ । त्यसका लागि बिशेष गरेर महिला लगायत समाजका सबै बर्गीय शोषण सामाजिक उत्पीडनमा परेका जन समुदायलाई सचेत, संगठित र संघर्षशील रहनुपर्ने आवश्कताको बोध गराउँदछ र त्यस दिशामा निरन्तर लाग्न घच्घच्याउँदछ ।

यस सन्दर्भमा आज नेपाली महिला समुदायको कुरा गर्दा उनीहरु अन्य शोषित पीडित बर्गका जन समुदायकासाथ सामन्ती पुरुष प्रधान सामाजिक संरचनाका कारणले थप लैंगिक शोषणको शिकार हुनु परिरहेको छ । उनीहरुमाथिको घरेलु सामाजिक हिंसा, प्रताडना, बलात्कार र हत्यासम्मका दमन र शोषण लैंगिक कारणले बढी हुने गरेका छन् । त्यसैले महिला समुदायमाथिको दोहोरो शोषण र उत्पीडनबाट उनीहरुलाई मुक्त गर्न स्वयं महिला समुदाय र उनीहरुका साथै अन्य शोषण, अन्याय र उत्पीडनमा परेका आम जन समुदायको एकता र एउटै आवाज आजको राष्ट्रिय आवश्यकता बन्न गएको छ । महिला समुदायको समस्या केवल महिलाको मात्र समस्या नभएर यो उत्पीडन र शोषणको समस्या भएकाले शोषित उत्पीडित सम्पूर्ण जन समुदायको संयुक्त आन्दोलन आज राष्ट्रिय आवश्यकता बन्न गएको छ । यसले शोषण उत्पीडनमा परेका सम्पूर्ण बर्ग र समुदायको कार्यक्रमिक र कार्यनीतिक एकताको माग गर्दछ ।

यस सन्दर्भमा आज हामीले बिश्वका श्रमिक महिला समुदायको आन्दोनलको इतिहास हेर्दा र बिश्लेषण गर्दा शोषण उत्पीडनमा परेका महिलाहरुलाई त्यसबाट मुक्त गर्न र समानता र न्यायका निम्ति संघर्ष गर्दै आएका अग्रणी महिला नेताहरु खाशगरी क्लारा जेटकिन र रोजा लग्जेम्बर्गहरुलाई सम्झनु र सम्मान गर्न पर्ने हुन्छ र उनीहरुबाट प्रेरणा लिनु पर्ने हुन्छ । उनीहरुले बिश्वका श्रमिक महिलाहरुका आन्दोलनलाई सही दिशा र गति दिन गरेको अनुकरणीय प्रयासहरुलाई पुनः अध्ययन गर्नुपर्ने र आजको परिप्रेक्षमा त्यसबाट सही शिक्षा लिनुपर्ने हुन्छ । अनि सबै जन समुदायका शोषित पीडित बर्ग, तह र तप्काका जनताको एकता, प्रगति, शान्ति र सम्बृद्धिका निमित्त संघर्षरत महिला संगठनहरु र तिनका सहयोगी सबै अभियन्ताहरुका बीच उनीहरुको न्यायर्पूण संर्घष सफल होस् र उत्तरोत्तर प्रगति होेस् भन्ने शुभकामना आदान–प्रदान गर्नुपर्ने दिनकोरुपमा यो आठ मार्च मनाउने गरिदै आएको हो । यसले उनीहरुमा मुक्ति र प्रगतिको लागि थप ऊर्जा प्रदान गर्दछ र सही बाटोमा थप उत्साहकासाथ अघि बढ्ने जोश जाँगर पैदा गर्दछ ।

जहाँसम्म हाम्रो देशको कुरा छ देशमा जति पटक राजनीति परिवर्तन र सुधार हुँदै आएको भए पनि मूलतः नेपाली महिलाहरु श्रोत साधनबिहीन नै छन् । उनीहरु घरेलु हिंसा, सामाजिक शोषण र उत्पीडनमा निरन्तर पर्दै आएका छन् । अशिक्षा, गरीबी, अभाव, असुरक्षा र अन्धबिश्वासबाट वास्तवमा महिलाहरु नै सबैभन्दा बढी आक्रान्त छन् । यी सबै समस्याबाट मुक्तिको निम्ति एकाातिर सम्पूर्ण शोषित पीडित महिला अझ बढी सचेत, एकजुट र संघर्षशील हुनु आजको पहिले सर्बोपरी अत्यावश्यक छ भने अर्कोतिर शोषण उत्पीडनमा परेका सम्पूर्ण जन समुदायसँग मिलेर शोषणकारी ब्यवस्थालाई अन्त्य गर्ने र बैज्ञानिक समाजबादको पृष्ठभूमि तयार गर्ने सामन्ती दलाल पूँजीबादी नोकरशाही ब्यबस्था बिरोधी संघर्षमा एकाकार भएर लाग्नु उत्तिकै आवश्यक छ । यो बाटोबाट नगुज्रिकन नेपाली समाजलाई स्वाधीन, समुन्नत र अग्रगामी दिशामा अघि बढाउन सकिने अरु कुनै बाटो छैन । बिश्वब्यापीरुमा चलेका महिला आन्दोलनहरु र हाम्रै देशको आजसम्मको राष्ट्रिय आन्दोलनको अनुभवको आधारमा यो तथ्यलाई बुझ्नु बुझाउन अत्यावश्यक छ । अन्यथा शोषण उत्पीडनकै यथास्थितिमा अल्मलिने बहेक अरु केही उपलब्धी हुन सक्तैन ।

त्यसैले हामी नेपाली महिलाहरुले ऐतिहासिक महत्वको आठ मार्चको दिन अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिबसलाई सम्झदा र यो दिन मनाइरहँदा आजसम्मका नेपाली जन आन्दोलन र त्यस अन्तरगत पनि खाशगरी महिला आन्दोलनमा के कमी कमजोरीहरु रहे तिनको समीक्षा गर्नु र ती कमी कमजोरीहरुलाई दृढताकासाथ हटाउँदै अघि बढनु आवश्यक छ । यसरी मात्र महिला आन्दोलनलाई सही दिशा र गति दिन सकिन्छ । आठ मार्च अमर छ र अमर रहिरहने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्