माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने



काठमाडौं । सर्वोच्च अदालतले पार्टी एकता नै बदर गरेपछि तत्कालीन माओवादी केन्द्रले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । विगतमा पार्टी एकता गर्ने बेला समर्थन दिइएको र अब सर्वोच्च अदालतले एकता बदर गरिदिएकाले सो समर्थन फिर्ता लिने अवस्था सिर्जना भएको माओवादी केन्द्रका नेताहरु बताउँछन् ।

एमालेसँग पार्टी एकताको पहलकर्तामध्येका एक जनार्दन शर्माले सरकारको समर्थन फिर्ता लिने बताए । सरकारको समर्थन फिर्ता लिए संसदमा विश्वासको मत लिने ओली समूहका नेताहरु बताउँछन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता नहुँदै ओली प्रधानमन्त्री बनेका थिए । संयुक्त गठबन्धन बनाएर चुनाव लडेकाले माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई समर्थन गरेको थियो ।

एमाले र माओवादी केन्द्र एकीकरण भएपछि २०७५ जेठ ३ गते नेकपा गठन भएको थियो । तर निर्वाचन आयोगमा ऋषि कट्टेल नेतृत्वमा पहिल्यै नेकपा दर्ता भएकाले कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमा आइतबार फैसला सुनाउँदै सर्वोच्चले एमाले र माओवादीको एकतापछि बनेको नेकपा खारेज गर्दै कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिने फैसला गरेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्