Banner Third

राज्यबाट दोहोरो सुविधा नलिने प्रमुख आयुक्त प्रेमकुमार राईको घोषणा

By Thaha - Online

March 09, 2021

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राज्यबाट कुनै पनि प्रकारको दोहोरो सुविधा नलिने घोषणा गरेका छन्। गत माघ २१ गते नियुक्त भएका राईले फागुन महिनादेखि आयोगबाट पाउने सुविधाबाहेक आफूले पाउने निवृत्तिभरण लगायतका अन्य सुविधा नलिने घोषणा गरेका हुन्।

सोमबार राईको निर्देशनमा आयोगका लेखा अधिकृत निमलाल भुसालले निवृत्तभरण कार्यालयलाई पत्र लेख्दै पाइरहेको निवृत्तिभरण रोक्न जानकारी गराएका छन्। भुसालद्वारा जारी पत्रमा ‘निवृत्तिभरण रकम नलिने र प्रमुख आयुक्तको हैसियतमा प्राप्त हुने सेवा सुविधा मात्र लिने स्वघोषणा गरिदिनुभएको’ भनिएको छ।

यसैबीच अख्तियारको सो जानकारीसँगै निवृत्तिभरण व्यवस्थापन कार्यालयले पनि प्रमुख आयुक्त राईले आफ्नो संकेत नम्बर १३३४८४ बाट खाइपाई आएको निवृत्तिभरण ‘पेन्सन’ रकम रोक्का गरिएको जानकारी दिएको छ। राईको यो घोषणासँगै संवैधानिक निकायका अन्य पदाधिकारीलाई पनि दोहोरो सुविधा नलिन नैतिक दबाब परेको छ।

सामाजिक सुरक्षा कार्यक्रम कार्यविधि ०६९ ले दोहोरो सुविधा लिन नहुने व्यवस्था गरेको छ । यद्यपि कानुनमा भने कहीँ कतै त्यस्तो व्यवस्था नभएका कारण कतिपय पदाधिकारीले दुबै सुविधा लिने गरेको पाइन्छ।