अलग–अलग पार्टी भएर जाने नेकपा प्रचण्ड–माधव समूहको निर्णय



काठमाडौं। साविकको नेकपा प्रचण्ड–माधव समूहले अलग–अलग पार्टी भएर जाने निर्णय गरेको छ। सोमबार बेलुकी बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्रमै रहने निर्णय गरेको हो।

यो समाचार आजको जनआस्थाले लेखेको छ। बैठकले सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाउँदै पुनरावलोकनमा जाने निर्णय पनि गरेको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठले न्यायिक पुनरावलोकनमा जाने निर्णय भएको जानकारी दिए। ‘अदालतको फैसलाको बारेमा वृहत छलफल भएको छ । रिट निवेदकको माग दाबी भन्दा बाहिर गएर फैसला गरेको देखियो। त्यसप्रति हाम्रो गम्भीर असहमति रहेको छ। कानूनी ढङ्गबाट उपयुक्त उपचार खोज्छौँ’, उनले भने।

श्रेष्ठले अदालतको एउटा फैसलाले वामपन्थी एकताको प्रक्रिया नरोकिने पनि बताए। उनले भने, ‘कम्युनिष्ट आन्दोलनको मूल मर्मलाई समेटेर सबै वामपन्थी पार्टीहरु बिचको एकतालाई अगाडि बढाउछौँ, एकता जारी छ।’ उनले पुनरावलोकनको प्रक्रिया कहिले शुरु हुने भन्ने यकिन नभएकाले हाललाई अदालतको फैसलालाई मानेर जाने पनि जानकारी दिए। ‘२०७५ जेठ ०३ गते दुई पार्टी एकीकरण भै बनेको नेकपा अविचलित ढङ्गबाट अगाडि बढ्छ’, श्रेष्ठले भने, ‘हालका लागि अदालतको फैसलालाई सम्मान गर्दै नेकपाको यो अन्तिम वैठक हो। राजनीतिक नैतिकताको हिसावमा भोलिबाट आ–आफ्नो पूर्ववत पार्टीमा लाग्छौँ।’

त्यस्तै, नेपाल पक्षका कर्णाली प्रदेशसभा सदस्य अमर बहादुर थापाले बैठकले अदालतको फैसलालाई स्वीकार गरेको जानकारी दिए। ‘अदालतको निर्णय हामीले मान्नैपर्छ, तर निर्णय जनताको पक्षमा छ कि छैन भन्ने कुरा पनि छ। अझै पनि पुनरालोकन हुन सक्छ’, उनको भनाइ छ। अदालतमा सेटिङ गरिएको भन्दै उनले त्यसतर्फ ध्यान पुर्याउन नसक्नु कमजोरी भएको बताए। ‘सेटिङ्ग भनेको यहि हो नि। तर त्यहाँसम्म सेटिङ होला भन्ने सोचेकै थिएन।’

पार्टी कार्यालय पेरिसडाँडामा बसेको अन्तिम बैठकको अध्यक्षता अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संयुक्त रुपमा गरेका थिए। बैठकमा बरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु देबेन्द्र पौडेल, लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, मात्रिका यादव, पम्फा भुसाल, वर्षमान पुन, देव गुरुङ, सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीम रावल, यागेश भट्टराई, शक्ति बस्नेत, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरालगायतको उपस्थिति थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्