साउदी रोजगारदाताहरुको पुरा विवरण समावेश गर्न दुतावासको आदेश



काठमाडौं ।  साउदी अरबस्थित नेपाली दूतावासले वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा साउदी अरबस्थित रोजगारदाताहरुको विवरण तत्काल अपलोड गर्न आग्रह गरेको छ । नेपाली कामदारका लागि प्रमाणीकरण भएका डिमाण्डका कागजपत्र विभागको अनलाइन प्रणालीमा अपलोड गर्न जनशक्तिको अभावले गम्भीर समस्या उत्पन्न भएको दूतावासले बताएको छ ।

दूतावासमा प्रमाणीकरण भएका तर अनलाइन प्रणालीमा दुई हजार बढी फाइल अपलोड हुन सकेका छैनन् । करिब ५० हजार नेपाली कामदारको डिमाण्ड रहेको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले वैकल्पिक व्यवस्था गरी प्रमाणीकरण गरिएका ती मागपत्र तत्काल विभागको अनलाइन प्रणालीमा अपलोड गरी पठाउन माग गरेको छ ।

दूतावासले एक सूचना प्रकाशित गरी बिहीबारसम्म १ सय ७० रोजगारदाताहरुको विवरण नोपलका म्यानपावर कम्पनीले फेमिसमा अपलोड गरेको नदेखिएको भन्दै विवरण अपलोड नभएमा दूतावासले प्रमाणीकरण गरेपनि मागपत्र अनलाइन नहुने बताएको छ । दूतावासमा आइपुगेका फाइल प्रमाणीकरण भई अपलोड हुन नसकेको समस्या करिब दुई महिनादेखि समाधान हुन सकेको छैन ।

परराष्ट्र मन्त्रालयमासमेत ध्यानाकर्षण गर्दा पनि समस्याको समाधान नभएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गत हप्ता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सुर्य प्रसाद गौतमलाई भेटी मागपत्र अपलोड गर्ने व्यवस्थाको लागि पहल गर्न माग गरेको थियो । व्यवसायीहरुले साउदी अरबस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गरेर नपठाउँदा नेपाल आउने डिमाण्ड बंगलादेश लगायतका देशमा डाइभर्ट हुन थालेको दावी गरेका छन् ।

दूतावासले भने प्रमाणीकरण भएका मागपत्र विभागको अनलाइन प्रणालीमा अपलोड गर्ने जनशक्तिको अभाव रहको बताउँदै आएको छ । दूतावासले दूतावासको अनलाइन प्रणाली (https://demand.nepalembassy.gov.np) र विभागको वैदेशिक रोजगार सूचना प्रणाली (फेमिस) एक आपसमा जोडिन नसकेका कारण प्रमाणीकरण भएका मागपत्र विभागको सूचना प्रणालीमा अपलोग हुन नसकेको बताएको छ । दूतावासले कार्यबोझ बढेको भन्दै मार्च १० तारिख अर्थात आगामी सोमबारसम्म नयाँ मागपत्र प्रमाणीकरण नगर्ने बताइसकेको छ ।

यसैबीच मागपत्र प्रमाणीकरण भई नआएका कारण रोजगारीका लागि साउदी अरब जान स्वास्थ्य परीक्षण गराइसकेका हजारौं कामदारहरुको मेडिकल रिपोर्ट डेट एक्पाएर भई पुनः मेडिकल गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

वैदेशिक रोजगार ऐन अनुसार भिसा प्राप्त भएपछि मात्रै वैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने भएपनि साउदी अरबमा रोकिएका डिमाण्ड आएमा एकै चोटी स्वास्थ्य परीक्षण गराउँदा व्यवहारिक कारणले कठिनाई हुने आँकलन गरी धेरै म्यानपावरहरुले कामदारलाई आफ्नो स्वास्थ्य परिक्षण गराई राख्न भनेको छ ।  साउदी अरबको हालको नियम अनुसार मेडिकल रिपोर्टको अवधि ३ महिना मात्र हुन्छ । तीन महिना नाघेपछि त्यस्ता कामदारहरुले पुनः मेडिकल गर्नुपर्ने व्यव्स्था रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्