फागुन २६, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बालुवाटारले आफूहरूका सम्बन्धमा गलत रुपमा प्रयोग गरिरहेको आरोप लगाएको छ। जसपाका नेताहरूले सरकारका प्रतिनिधिहरूसँग वार्ता र सम्वाद भए पनि सत्तासमीकरणका विषयमा ठोस कुरा नभएको दाबी गरेका छन् । उनीहरूले अहिलेनै सरकारमा गएर ओली सरकारलाई समर्थन गर्ने विषयमा पार्टीभित्र कुनै निर्णय नभएको बताएका छन् ।
जसपाका नेता एवम् प्रदेश १ का प्रदेश सभा सांसद मनीष सुमनले बालुवाटारले जसपालाई दुरुपयोग गरेको बताए । उनले भने, ‘अहिलेको राजनीतिक अवस्थामा छलफल गर्नु स्वभाविक हो । तर, बालुवाटारले आफू अनुकूल जसपालाई बद्नाम हुने गरेर गतिविधि गर्नु उचित छैन ।’
जसपाका नेता एवम् प्रतिनिधि सभाका सांसद राजकिशोर यादवले सरकारसँग रेशमलाल चौधरीको रिहाइका विषयमा मात्रै छलफल भएको बताए । ‘हामी रेशमलाल चौधरीलाई रिहाइ हुनुपर्छ भन्ने अडानमा छौँ’, उनले भने, ‘सत्तापक्षले के–के गर्छ ? के–के भन्छ हामीलाई थाहा छैन ।’
जसपाका अर्का नेता शर्वेन्द्रनाथ शुक्लाले सरकारमा जाने कुरा नरहेको बताए । उनले भने, ‘हामी सरकारमा जाने कुरा भएको छैन ।’
जसपालाई उप–सभामुख र केही आकर्षक मन्त्रालय दिएर सरकारमा जान लागेको भनेर समाचार आइरहेका बेला जसपाका नेताहरूले सत्तासमीकरणको आरोपलाई खण्डन गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले आफूविरुद्ध आउने सम्भावित अविश्वासको फेल गराउन जसपासँग गठनबन्धनको तयारीमा छन् ।
प्रधानमन्त्री ओलीले जसपा फुटाएर पनि सरकारमा लैजाने भनेर समाचार आइरहेका छन् । ओलीलाई सरकार बचाउन कम्तीमा १८ सांसद आवश्यक पर्छ । जसपाका नेताहरूले पार्टी फुट्ने कुनै सम्भावना नरहेको बताएका छन् ।
नेकपा (माओवादी) केन्द्रले अहिले पनि सरकारलाई समर्थन जारी राखेको छ । माओवादीले समर्थन फिर्ता नलिदासम्म ओली सरकार सुरक्षित छ ।
माओवादीले समर्थन फिर्ता लिनेवित्तिकै ओलीलाई समस्या पर्नेछ । अविश्वासको प्रस्ताव फेल गराउन ओलीले जसपालाई कुनै पनि हालतमा सरकारमा लैजानुपर्छ ।
ओलीलाई नेपाली कांग्रेस र माओवादी केन्द्रले तत्काल साथ दिने पक्षमा छैनन्

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।