शिवरात्रीकाे तयारी: बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खोलिने



काठमाडाैँ। हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व मध्यको एक शिवरात्री यस वर्ष भोलि (बिहिवार) परेको छ। यो पर्वका लागि नेपालका विभिन्न क्षेत्र का साथै भारतबाट साधुसन्तहरु पशुपति मन्दिर परिसरमा आइसकेका छ। केहि बेलुका सम्म आउने छन्। पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताएका छन्। बिहिबार महाशिवरात्रि परेकाे छ।

उनका अनुसार तीन वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो। यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारवाही गर्ने उनले बताए।

महाशिवरात्रिका अवसरमा बिहीबार बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खोलिने कोषले जनाएको छ। यस वष कोरोना महामारीको जोखिम कायमै रहेकाले आठ लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ। विगत वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए।

हिन्दुहरुका आराध्यदेव पशुपति नाथमा शिवरात्रीका दिन विशेष पुजा र भक्तिका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरु आउने गर्दछन्। यसरी आउने साधुसन्तलाई पशुपति क्षेत्र विकाश कोषले शिवरात्री सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने चलन छ।

शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ । पशुपति क्षेत्र विकास कोषले मंगलवार पत्रकार सम्मेलन गरि शिवरात्रीको तयारी पुरा भएको बताएको छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ। यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक मान्यता छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्