काठमाडाैं । नेकपा एमालेका महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले असन्तुष्ट नेताहरूलाई कसरी समेट्ने भन्ने विषयमा पार्टीमा छलफल भइरहेको बताएका छन्। पर्सामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा पोखरेलले आत्मआलोचनाको मौका दिइने विषयमा छलफल भइरहेको बताए ।
उनले माओवादी केन्द्रबाट एमालेमा आएका सम्पूर्ण नेताहरूलाई सम्मानजनक स्थान दिएर व्यवस्थापन गरिने पनि बताए।‘माओवादीबाट आएका साथीहरूलाई सम्मानको साथ जिम्मेवारी र पद दिइन्छ भने नेकपा एमालेको लाइन बिर्सेर माओवादीतिर लागेको साथीहरू पनि एमालेमै फर्किनु भएको छ, उहाँहरूको बारेमा पनि पार्टीको केन्द्रीय कमिटीमा छलफल गरी जे निर्णय हुन्छ त्यही अनुसार जिम्मेवारी र स्थान दिइने छ,’ उनले भने।
यद्यपि उनले पुर्नजिवित एमालेले सबै वामपन्थी शक्तिहरूलाई समेट्दै अगाडि बढ्ने पनि बताए। पोखरेलले संसद् स्वाभाविक प्रक्रिया अनुसार नचले ताजा जनादेशमा मुलुक जाने बताए। उनले भने, ‘संसद् स्वाभाविक प्रक्रिया अनुसार चले ठिकै छ यदि त्यसो भएन भने मुलुक ताजा जनादेशमा जाने र त्यसका लागि तयार रहन पार्टीका नेता कार्यकर्ताहरूलाई निर्देशन छ।’
पोखरेलले सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि नेकपा एमाले २०७५ जेठ २ गतेको अवस्थामा पुगेको र त्यही अनुसार अब अगाडि बढ्ने बताए। अब सरकार र एमालेको पार्टीको एउटै उद्देश्य मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने र यसलाई नै केन्द्रमा राखेर सरकार र एमाले अगाडि बढ्ने उनले बताए ।
नेपाल भारत सीमा पूर्ण रूपमा खोल्नु पर्ने माग सीमावर्ती क्षेत्रको नागरिकको आवाज उठिरहेको सवालमा उनले स्थानीय जिल्लाका संकट व्यवस्थापन केन्द्रले सीमा खोल्नुपर्ने निर्णय गरेर उच्च स्तरीय संकट व्यवस्थापन समितिमा पठाएपछि आफू उक्त समितिको संयोजकको नाताले गृह मन्त्रालयसँग छलफल गरी सीमा खोल्न पहल गर्ने प्रतिबद्धता उनले जनाए। पोखरेल रौतहटको मौलापुर नगरपालिकाको पत्रौरामा महाशिवरात्रिको दिन आयोजित महायज्ञको कार्यक्रममा सहभागी हुन हिजो राति वीरगन्ज आइपुगेका हुन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।