टर्की पठाउने बहानामा हुने ठगी धन्दामा सचेत रहन विभागको आग्रह



फागुन २७ , काठमाडौं  ।  वैदेशिक रोजगार विभागले टर्कीको इलिट टुरिजम इन्भेष्मेन्ट इन्क नामक कम्पनीमा गएका नेपाली कामदारहरुले दुःख पाईरहेको भन्दै उक्त कम्पनीमा जान चाहनेहरुलाई चनाखो हुन आग्रह गरेको छ  । नेपाली कामदारहरुलाई आकर्षक तलवको प्रलोभन देखाएर उक्त कम्पनीमा लैजाने भनि नेपालमै ठगी गर्ने र टर्की पुगेपछि काम र तलव नदिई कामदारहरुलाई अफ्ठ्यारोमा पार्ने गरेको भन्दै विभागले सचेत हुन आग्रह गरेको हो ।

उक्त कम्पनीका लागि श्रम स्वीकृति लिएर कम्पनीमा पुगेपछि नेपालमा भनिए अनुसारको तलव लगायतका सुविधा नपाएका युवाहरु नेपाल फर्किएर विभागमा ठगीको रकम असुल उपर गरी दलाललाई कारवाहीको मागगर्दै उजुरी दर्ता गर्ने गरेको भन्दै विभागले सचेत हुन समेत आग्रह गरेको छ ।  विभागले टर्की मात्र नभई वैदेशिक रोजगारका लागि जाने सबै मुलुकहरुका वारेमा पूर्णरुपमा जानकारी लिई सचेत भएर जानु पर्ने बताएको छ ।

केहि दिन अघि वैदेशिक रोजगारीको प्रलोभनमा पारेर दुई महिलालाई टर्की पुर्‍याएर मानव बेचबिखनको गरेको अभियोगमा प्रहरीले गोरखा नगरपालिकाका जीवन भट्ट र बाग्लुङ ढोरपाटन नगरपालिका बाग्लुङकी पूर्णिमा सिर्पाली बस्नेतलाई पक्राउ गरेको थियो ।  उनीहरुले एकै घरका आमाछोरीलाई टर्कीमा राम्रो रोजगारी पाइने प्रलोभन देखाई १० लाख रुपैयाँ लिइ टर्की पर्‍याएको प्रहरीको भनाई छ ।

टर्कीमा रहेका पूर्णिमाका बुवाले काममा लगाइदिन्छु भन्दै तीन हप्ता आफ्नै कोठामा राखी नेपाल फर्किन पनि नदिइ आमालाई ग्रीस पठाइदिन्छु भनि कोठामै बन्धक बनाएको र छोरीलाई टर्कीको बोर्डरमा पुर्‍याएर २ हजार लिरामा अन्य गिरोहलाई बिक्री गरेको प्रहरीको दावी छ ।

टर्कीमा श्रम स्वीकृति लिएर पठाउन नेपाल सरकारले खुला गरेको छ ।  तर संस्थागत रुपमा भन्दा पनि व्यक्तिगत रुपमा जानेहरु बढी देखिएका छन् । कन्सल्टेन्सी फर्म, ट्राभल एजेन्सी, मनी ट्रान्सफर, दलाल, एजेन्ट, जस्ता वैदेशिक रोजगारमा पठाउने अधिकार नभएकाहरुले चर्को रकम लिएर मोलमोलाई गरी लाखौं रकम ठग्ने गरेको विभाग श्रोतले बतायो ।

युरोप तथा अमेरिका पठाउने भन्दै नेपालीलाई ठगी गर्ने गिरोहले युरोपसँग सीमा जोडिएको टर्कीलाई मुख्य केन्द्र बनाउने गरेको बताइएको छ । पानी जहाज (क्रुज) मा आकर्षक तलव सहितको जागिर लगाइदिने र युरोप पठाईदिने बहानामा दलालहरूले टर्की पुर्‍याएर नेपालीहरूलाई अलपत्र छाड्ने पीडितहरुको भनाइ छ । पहिले पहिले खाडी तथा मलेसिया लगायतका मुलुकमा पठाउने बहानामा ठगी गर्नेहरूले हाल टर्कीलाई केन्द्र बनाउन थालेको विभागको आँकलन छ । वैदेशिक रोजगारी र कतिपय अवस्थामा मानव बेचबिखन तथा ओसारपसारका एजेन्टहरूले पनि टर्कीलाई ट्रान्जिटका रूपमा प्रयोग गरेको प्रहरीको अनुमान छ ।

सिरिया लगायतका द्वन्द्वग्रस्त मुलुकहरूबाट शरणार्थीका रूपमा टर्कीको बाटो हुँदै युरोप जाने गरेका छन् । दलालहरुले मोटो रकम लिई नेपालीलाई पनि सिरियन नागरिकको नक्कली परिचयपत्र बनाएर हुलमा छिराउने गरको समेत पाइएको प्रहरी श्रोतले बतायो । टर्कीको नेपालमा दुतावास छैन । भारतस्थित टर्कीको दूतावासले नेपाल मामिला हेर्ने गरेको छ भने, पाकिस्तानको राजधानी इस्लामावादमा रहेको नेपाली दूतावासले टर्की हेर्ने गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्