काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पार्टीका अन्य नेतासँगै अपराह्न ५ बजे बालुवाटार जाने भनिए पनि अन्तिम समयमा आएर उनले आफ्नो योजना परिवर्तन गरेका छन् । जसपा नेपालको बिहीबार बसेको पदाधिकारी बैठकले राजनीतिक दलहरुसँग उच्च तहमा संवाद गर्ने निर्णयसँगै जसपाका शीर्ष नेताहरु प्रधानमन्त्री केपी ओलीसँग छलफलका लागि बालुवाटार गएका हुन् ।
जसपाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई लगायत अपराह्न पाँच बजे बालुवाटार जाने तय भइसके पनि अन्तिम समयमा आएर डा.भट्टराई बालुवाटार नगएका हुन् । उनी स्वास्थ्य समस्याका कारण बालुवाटार नगएको स्रोतले जनाएको छ ।
दिनभर पार्टीको बैठक तथा अन्य भेटवार्ताका कारण धपेडी भएका कारण उनले बालुवाटार जाने कार्यक्रम रद्ध गरेको बताइन्छ । पार्टीका अन्य नेताहरु गएको अवस्थामा आफू गइरहन त्यति जरुरीसमेत नरहेको भन्दै डा.भट्टराईले पार्टीका नेताहरुसँगकै सल्लाहअनुसार बालुवाटार नजाने निधो गरेको जसपा नेपाल स्रोतले जनायो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।