काठमाडौं। कोरियाले कोरोना संक्रमणको अति संवेदनशील मुलुकको सूचीबाट नेपाललाई अझैसम्म राखेर कामदार नलिँदा ईपीएस परीक्षा उत्तीर्ण गरेका १० हजार ५ सय ५ र नियमित प्रक्रियाबाट करिब ५ वर्ष काम गरी घर फर्केर अर्को प्रक्रियाबाट फेरि जान तयार करिब २ हजार युवा यतिखेर छटपटीमा छन्।
कोरियाले सन् २०२० का लागि सबैभन्दा धेरै कोटा छुट्याएर १२ हजार ९ जना नेपाली लिने घोषणा गरेको थियो। तर त्यस वर्ष १ हजार २७ जनाले मात्र कोरिया उड्न पाए। कोरियाले नियमति रुपमा कामदार लिएको भए सन् २०१७, २०१८ र २०१९ मा भाषा परीक्षा उत्तीर्ण गरीवरी रोस्टरमा परेका १० हजार ५ सय ५ नेपालीले रोजगारी पाउँथे।
सन् २०२० का लागि अघिल्लो वर्ष लिएको भाषा परीक्षामा करिब ९२ हजार सहभागी भएकामा ६ हजार ७ सय जना उत्तीर्ण भएका थिए। जसमा उत्पादन तर्फ २ हजार ७ सय र कृषि तथा पशुपालनतर्फ २ हजार जना थिए।
कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन जारी गर्नुभन्दा एक महिनाअघि गत वर्ष फागुन २१ देखि नै नेपालले एकतर्फीरुपमा कामदार पठाउने प्रक्रिया स्थगन गरेको थियो। त्यतिबेला कोरियामा कोरोना भाइरस तीव्र रुपमा फैलिएको थियो। आजको कान्तिपुर दैनिकमा समाचार छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।